सुर्खेत – सरकारले विद्युतको १३२ केभी प्रशारण लाईन जुम्लासम्म विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले आगामी साढे दई वर्षभित्र जुम्लामा १३२ केभी प्रशारण लाईन पुर्र्याउने जनाएको छ ।
दैलेख–कालिकोटहुदै जुम्लामा १३२ केभी विद्युत प्रसारण लाईन पुर्र्याउन योजना कार्यान्वयन गर्न विभागले सार्वजनिक सूचना जारी गरेको छ । विभागले ५ बैशाखमा प्रथम पटक ३५ दिने सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रसारण लाईन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकूल असर पर्नेभए विभाग वा प्रवद्र्धधक नेपाल विद्युत् प्राधिकरणमा आफ्नो लिखित राय तथा प्रतिक्रिया दिन भनेको हो ।
दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका–१ बेलघारीमा रहेको सवस्टेसनबाट सुरु भई कालिकोट हुँदै जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित बयलकटियामा निर्माण हुने सवस्टेसनसम्म लाईन विस्तार गरिने छ । प्रशारण लाइनबाट पर्न सक्ने सामाजिक, आर्थिक तथा वातावरिण प्रभावका बारेमा विभागले सम्बन्धित क्षेत्रका स्थानीय र सरोकारवालासँग राय मागेको छ ।
हाल कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तारको काम जारी छ । सुर्खेतको सुब्बाकुुनामा रहने सवस्टेशनबाट दैलखमा रहने सशस्टेशनसम्म पुग्ने प्रशारण लाइन विस्तारको प्रक्रिया समेत अगाडि बढेको आयोजनाका प्रमुख रवि चौधरी बताउनुहुन्छ ।
कोहलपुर–सुर्खेत प्रशारण आयोजना अन्तर्गत हालसम्म सुर्खेत खण्डमा विद्युतका टावर निर्माण गरी तार तान्ने काम अन्तिम चरणमा पुगेको छ भने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रुख कटानको काम सुरु भएको छ । सुर्खेत खण्डमा प्रशारण लाइन विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
यो प्रशारण लाइन निर्माण भएसँगै कर्णालीमा सामान्य हावा लाग्दा पनि विजुली जाने समस्याको दीर्घकालिन हल हुनेछ । हाल कर्णालीका आठ जिल्लामा ५० को दश अघि निर्माण भएको ३३ केभी प्रशारण लाईनबाट विद्युत आपुर्ति हुँदै आएको छ ।
आयोजना कार्यालयका अनुसार दैलेख–जुम्ला प्रशारण लाईन कुल ८२ दशमलव १४ किलोमिटर लामो रहने छ । जसमा डबल सर्किटसहितको प्रशारण लाइन निर्माण गरिनेछ । जसमा दुई सय ७९ वटा टावरहरु निर्माण गरिने छ । टावरको उचाई ३० देखि ४० मिटरसम्म रहने टावरहरु बिचको औषत दुरी दुई सय ९६ दशमलव ५५ मिटर रहनेछन् ।
यस आयोजना अन्तर्गत दैलेख–कालिकोट र जुम्ला जिल्लामा १३२÷३३÷११ केभी सवस्टेसनहरु निर्माण गरिने छ । आयोजना निर्माणको लागि कूल एक सय ५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्ने विद्युत् विकास विभागले जनाएको छ । जस मध्य दुई सय ७९ टावरहरुका लागि स्थायी रूपमा करिब १२ दशमलव चार हेक्टर जग्गा आवश्यक पर्नेछ ।
यस बाहेक विद्युत् मार्गको अधिकार क्षेत्र भित्र राइट अफ वे अन्तर्गत एक सय ३२ दशमलव ६९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाईनको क्षेत्राधिकार विद्युत् नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मिटर (मध्य विन्दुबाट नौ÷नौ मिटर दायाँ बायाँ) कायम गरिने छ । प्रसारण लाईनको निर्माण कार्य साढे दुई वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको विभागले जनाएको छ ।
प्रशारण लाईनको रुट
दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बेलघारीमा रहेको दैलेख सवस्टेसन देखि शुरु भई सोही जिल्लाको नारायण नगरपालिका वडा नम्वर ४, ५, ७, ८, ९, १० र ११, नौमुले गाउँपालिका वडा नम्वर १, २ र ८ हुँदै कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्वर १, ३, ४, ९ र ११, महावै गाउँपालिका वडा नम्वर २, ३ र ४ हुँदै जुम्ला पु¥याइने छ ।
त्यस्तै, जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ६ र ७, तिला गाउँपालिका वडा नम्वर १, २ र ३, तातोपानी गाउँपालिका वडा नम्वर १, २, ३ र ६ हँदै चन्दननाथ नगरपालिका वडा नम्वर ९ स्थित वायलकटियामा बन्ने सवस्टेसनमा गएर टुङ्गिनेछ ।