प्रदेश अस्पताल सुर्खेतमा युवतीको मृत्युपछि आफन्तको आन्दोलन जारी

सुर्खेत – प्रदेश अस्पताल सुर्खेतमा युवतीको मृत्यु भएपछि मृतकका आफन्तले आन्दोलन जारी राखेका छन् ।

विहिबारदेखि आन्दोलित मृतकका आफन्तले न्यायको माग गर्दै ऐरिचौकमा सडक जाम सहित सडकमा टायर बाल्दै आन्दोलन जारी राखेका छन् ।

आफै हिंडेर उपचारका लागि अस्पतालमा पुगेकी युवतीको रहस्यमय ज्यान गएको भन्दै आफन्तले सत्यतथ्य छानविन गरी दोषिमाथि कारवाहरीको माग गरेका छन् ।

दैलेखको आठबीस नगरपालिका—५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेपछि उपचारका लागि बिहीबार बिहानै प्रदेश अस्पताल भर्ना भएकि थिइन ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखियो । त्यसपछि उनले देशकै उत्कृष्ट भनिने प्रदेश अस्पताल सुर्खेत जाने निधो गरिन् ।

भीमाका जेठाजु हर्कबहादुर बलामीले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन जारी रहेको बताए । घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् । शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलन जारी छ ।