रेशम पक्षको बैठक काठमाडौँमा बस्दै, रञ्जितानिकटलाई कारबाहीको तयारी

कञ्चनपुर – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय समिति (रेशम चौधरी पक्ष)को बैठक आज बस्दैछ।

शुक्रबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा बैठक बस्ने तयारी भइरहेको नाउपाका एक नेताले जानकारी दिए।

सत्ता गठबन्धन फेरबदल भएपछि गठबन्धनका विषयमा नाउपाभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच तीव्र मतभेद भएर नाउपा फुटको डिलमा पुगेको छ।

गठबन्धन फेरिएलगत्तै निर्वाचन आयोगले रेशमलाई अध्यक्षमा मान्यता नदिएर रञ्जितालाई नै फर्काएपछि चिढिएका रेशम नाउपामा समानान्तर गतिविधि गरिरहेका छन्।

सुदूरपश्चिममा कांग्रेससँग सहयात्रा गरेर सरकार जोगाउने रेशमको पहल रञ्जिता गुटले विफल पारिदिएको छ। रेशमको इच्छाविपरित एमाले नेतृत्वको गठबन्धनप्रति लचक रहेकी रञ्जिताले दुई सांसदलाई काठमाडौँमै होल्ड गर्दा कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ।

रञ्जितानिकट नाउपाका सांसदद्वय कैलाश चौधरी र टीका थापाले मत नदिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत फेस नगरेरै बिहीबार प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए।

सुदूरपश्चिममा कांग्रेसलाई साथ दिएका नाउपाका रेशम पक्षमा उभिएका ५ प्रदेश सांसदमध्येकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी छन्।

केही दिनअघि नाउपाको बैठकमा रेशम र रञ्जिता पक्षबीच हात हालाहाल भएको थियो। त्यसपछि रञ्जिताले संस्थापक केन्द्रीय सदस्यद्वय रमेश विक र रामलाल डगौँरामाथि आक्रमण गरेको भन्दै रेशम निकट बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी अध्यक्ष राजन गुरुङलाई पार्टीबाट निष्काशित गरेकी थिइन्।

लगत्तै रेशमले निर्वाचन आयोगले खारेज गर्नुपूर्वका महासचिव गंगाराम चौधरीमार्फत फागुन २३ र २४ गतेका लागि महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यको बैठक डाकेका थिए।

नागरिकता र मतदाता परिचय पत्र बोकेर पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा आउन उनले आग्रह गरेका थिए। महाधिवेशनबाट निर्वाचित नाउपाको १९५ सदस्यीय समिति छ। तर निर्वाचन आयोगले यसलाई खारेज गरिदिइसकेको छ।

यो बैठकबाट रेशमले छानिछानी कारबाही गरेर पार्टी शुद्धिकरण गर्ने बताउँदै आएका छन्। यद्यपी रञ्जिताले भने यो बैठक नाउपाको आधिकारिक बैठक नभएको स्पष्ट पारेकी छन्।