कर्णालीका ४५ हजार व्यक्तिले लगाए फाईजर खोप

सुर्खेत – कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले लगाए कोरोना विरुद्धको फाईजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा यहाँका करिब ४५ हजार नागरिकले फाईजर खोप (बुस्टरडोज) लगाएका हुन् ।

कर्णाली प्रदेशमा कोरोना–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालिकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान संचालन भएको थियो । जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा ईपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको कोरोना–१९ विरुद्धको फाईजर खोप अभियान समेत सम्पन्न भएको छ ।

खोप अभियान चैत २ र ३ गते संचालन भएको थियो । खोप अभियान सम्पन्न भएसंगै आइतबार ईपिक नेपालको सहयोगमा स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको कार्यक्रममा मार्फत खोप कभरेजको अवस्थाबारे जानकारी गराइएको हो ।

इपिक नेपालका प्राविधिक बिषेशज्ञ प्रदिप श्रेष्ठका अनुसार खोप कम कभरेज भएका कर्णालीका पाँच जिल्लाका १६ वटा पालिकाका यसअघि खोप लगाउन छुटुका नागरिकले खोप सेवा लिएका हुन् । खोप अभियान संचालनका लागि १६ वटा पालिकामा दुई सय ७८ वटा खोप केन्द्र स्थापना भएका थिए ।

खोप अभियानका लागि ६० हजार बढि खोप प्राप्त भएका थिए । जसमध्ये प्रारम्भिक तथ्यांक अनुसार करिब ४५ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाईएको तथ्यांक प्राप्त भएको छ । अझै जिल्लागत अन्तिम तथ्यांक प्राप्त हुनभने बाँकी छ । हालसम्मको तथ्यांक अनुसार करिब २० हजार जनाबढि पुरुष र २४ हजार बढि महिलाले खोप प्राप्त गरेका छन् ।

खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोजबाट छुटेका १२ वर्षमाथिको उमेर समूहका व्यक्तिहरु खोपबाट लाभान्वित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा चौकुने र चिङगाड गाउँपालिकामा खोप अभियान संचालन भएको थियो ।

यस्तै कालिकोटको तिलागुफा, रास्कोट र खाडाचक्र नगरपालिका, जुम्लाको तातोपानी र गुठिचौर गाउँपालिका, सल्यानको सिद्धकुमाख, कालिमाटी र सारदा नगरपालिका र दैलेखको नारायण र चामुण्डाविन्दाशैनी नगरपालिका तथा भगवतीमाई र गुराँस गाउँपालिकामा खोप अभियान संचालन भएको थियो ।

प्राविधिक बिषेशज्ञ प्रदिप श्रेष्ठका अनुसार आगामी बैशाख महिनामा पनि कर्णाली फेरी खोप अभियान संचालन गर्ने तयारी छ । ‘यो पटक पनि खोप लगाउन छुटेकाहरु बैशाखमा चल्ने खोप अभियानबाट लाभान्वित हुनसक्नेछन्’ उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा हाल नागरिकहरु खोप लगाउन उत्साहित देखिए । आगामी बैशाखमा संचालन हुने अभियान खोप कभरेज कम भएका कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा केन्द्रित हुनेछ ।’

कार्यक्रममा बोल्दै जनस्वाथ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले अभियानको क्रममा नागरिकहरु खोप लगाउन उत्साहित देखिएपनि सोही अनुसार खोप अभाव भएको बताउनुभयो । आगामी दिनमा पनि खोप अभियान सञ्चालन गर्न जनप्रतिनिधि तथा शिक्षा क्षेत्रको भुमिका मुख्य रहने भन्दै थप अभियान संचालन गर्न आवश्यक रहेको उहाँ बताउनहुन्छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले खोप कभरेज बढाउन कोभिड–१९ खोप अभियान संचालन पूर्व सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य बढाउनुपर्ने बताउनुभयो । हाल खपत भएको खोप अनुसार आगामी दिनमा पनि खोप कभरेज कम भएका जिल्ला र पालिकामा थप अभियान संचालन गर्नुपर्ने उहाँको भनाइ छ ।

खोप अभियान संचालन पूर्व अभियानलाई प्रभावकारी बनाउन स्थानीय खोप समन्वय समिति र स्वास्थ्यकर्मीसँग छलफल गरिएको थियो । यस्तै सबै पालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सहभागितामा खोप समन्वय समितिको बैठक र खोप अभियानमा सहभागि हुने स्वास्थ्यकर्मीलाई समेत अभिमुखिकरण गरिएको थियो ।

अभिमुखिकरण मार्फत पालिकामा खोपको अवस्था, खोपको प्रभावकारिता, खोप लगाउदा अपनाउनुपर्ने सावधानी, खोप भण्डारण तथा तथ्यांक संकलन लगायतका प्राविधिक विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराइएको थियो ।