डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी अभिमुखीकरण

सुर्खेत – कर्णालीका पत्रकारहरुलाई डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । आइतबार वीरेन्द्रनगरमा डिजिटल राईट्स नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको सहकार्यमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रविधिको प्रयोग सँगसँगै जोखिम पनि बढेकाले त्यसको संवेदनशीलता र सुरक्षाको जानकारीका बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रमको अभिमुखिकरण डिजिटल राईट्स नेपालका कार्यकारी प्रमुख टंक अर्यालले गरेका थिए ।

अर्यालले डिजिटल अधिकार के हो, यसले हामीलाई के प्रभाव पार्दछ, यो विषयसँग जोडिएका सुरक्षाका विषय के के हुन्, हामी के गरी सुरक्षित हुन सक्दछौं भन्ने विषयमा जानकारी गराएका थिए ।

प्रविधिको प्रयोगको क्रममा मुख्यतः पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरू अत्यन्त जोखिममा रहेकाले उनीहरूलाई डिजिटल अधिकारको दायरा के छ भन्ने विषयमा कार्यक्रममा पत्रकारहरु बिच छलफल भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णालीका महासचिव खगेन्द्रप्रसाद भट्टराईले आमसञ्चार क्षेत्रमा काम गर्ने पत्रकारलाई प्रविधिको प्रयोग र यसको अधिकारको सम्बन्धका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।