कर्णाली लोक सेवा आयोग : तीन वर्षमा तेह्र सय कर्मचारी सिफारिस

सुर्खेत – कर्णाली प्रदेश लोक सेवा आयोगले तीन वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी कर्मचारी छनोट गरी कार्यक्षेत्रमा पठाएको छ । चौथो तथा पाँचौँ तहका ३७८ जना र स्थानीय तहका ९६० गरी कुल एक हजार ३३८ जना उम्मेदवार छनोट गरिएको जनाइएको छ ।

प्रदेश लोक सेवा आयोग २०७७ साल फागुन ६ गते स्थापना भएको थियो । कर्णाली प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव लोकप्रसाद न्यौपानेले ५२ जना वनरक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोगको विश्वसनीयता, योग्यता र स्वच्छताको गरिमालाई कायमै राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले प्रदेश र स्थानीय तहका रिक्त जनशक्ति पदपूर्ति गर्ने काममा प्रदेश लोक सेवा आयोग क्रियाशील रहेको बताउनुभयो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री कृष्णबहादुर जिसीले लोक सेवा आयोगको कामलाई थप सहज बनाउन आवश्यक कानुन निर्माणको कामलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले आयोगका परीक्षालाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वित्तीय सङ्घीयता लागु नभएको, प्रशासनिक सङ्घीयता अधुरो हुँदा सङ्घीयताप्रति टीकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले योग्य जनशक्ति छनोट गर्दा सङ्घीयता कार्यान्वयनमा सहज हुने चर्चा गर्दै आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको मूलमन्त्रलाई कायम राख्न सक्नुपर्ने बताउनुभयो ।

सो अवसरमा आयोगका शाखा अधिकृत चन्द्रवीर शाही र प्रशासकीय अधिकृत लालबहादुर खत्रीलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । -gorkhapatra