कर्णाली प्रदेश ‘खेलकुद गित’का लागि शब्दरचना पठाउने म्याद थप

सुर्खेत – कर्णाली प्रदेश ‘खेलकुद गित’का लागि शब्द रचना पठाउने म्याद थप गरिएको छ । लगातार दुई पटक सार्वजनिक सूचना गर्दापनि प्रयाप्त मात्रामा शब्द रचना नआएको भन्दै म्याद थप गरी तेस्रो पटक सूचना आह्वान गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ ।

‘खेलकुद गित’का लागि हालसम्म २२ वटा शब्द रचना प्राप्त भएका छन् । अँझै उत्कृष्ठ रचनाको खोजीमा रहेको परिषदको कार्यालयले आगामी फागुन ६ गतेसम्मका लागि शब्द रचना पठाउन मिल्ने गरी म्याद थप गरेको हो ।

परिषदले आफ्नो छुट्टै ‘खेलकुद गित’का लागि गत पौष ५ गते पहिलो पटक सार्वजनिक सूचना मार्फत शब्द रचना माग गरेको थियो । पहिलो पटक प्रयाप्त मात्रामा शब्द रचना प्राप्त नभएपछि परिषदले दोस्रो पटक आफ्नो वेबसाइट मार्फत २१ पौष २०८० मा पुन गीतको शब्द रचना माग गरेको थियो ।

‘खेलकुद गित’मा कर्णालीको पहिचान, धरोहर, भेषभूषा, सस्कृति र कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको भाब झल्किने गरी शब्द रचना माग गरिएको छ ।

परिषदको कार्यालयमा प्राप्त भएका शब्द रचनाहरु छनौट गर्नको लागि कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिमा मध्यपश्चिम विश्व विद्यालयका उपप्राध्यापक कमल लम्साल र साहित्यकार देवकी तिमल्सिना छनोट समिति सदस्य रहनुभएको छ ।

उक्त समितिको शनिबार बसेको बैठकले हालसम्म परिषदमा प्राप्त भएका ‘खेलकुद गित’ का शब्द रचनामाथि छलफल गर्दै परिषदलाई पुन शब्द रचना माग गर्न अनुरोध गरेको परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले बताउनुभयो ।

समितिका सदस्य एवं मध्यपश्चिम विश्व विद्यालयका उपप्राध्यापक कमल लम्सालले भन्नुभयो, ‘समितिमा प्राप्त भएका रचनाहरु उत्कृष्ट नै छन् । तर अँझै पनि उत्कृष्ट रचनाहरु हुनसक्छन्, त्यस्ता रचना नछुटुन भन्ने ध्ययेले रचना पठाउने म्याम थप गर्न अनुरोध गरेका छौं ।’

उहाँका अनुसार एक पटकलाई मात्रै नभई सँधैका लागि ‘खेलकुद गित’ निर्माण गर्न लागिएकाले पछि प्रश्न नआउने गरी शब्द रचना माग गरिएको हो । ‘खेलकुद गित’ शब्द रचनाहरुको सूचना अँझै धेरै सर्जकसम्म पुगोस् र अँझै उत्कृष्ट रचना आवस् भन्ने उदेश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई सूचनाको म्याद थप्न अनुरोध गरेको उहाँ बताउनुहुन्छ ।

‘समग्र खेल क्षेत्र र खेलकुद मर्मलाई प्रतिनिधित्व गर्ने खालको ‘खेलकुद गित’ को शब्द रचनाको खोजीएको हो’ उहाँले भन्नुभयो, ‘हालसम्म प्राप्त भएका गितको शब्द रचनाहरु मध्यबाट उत्कृष्ट रचना छान्दा भोली यो भन्दा अझै राम्रो गित बन्न सक्थ्यो भन्ने सर्जकहरुबाट प्रतिक्रिया नआओस भनेर दिर्गकालिन सोचका साथ थप रचनाको खोजी गरिएको छ ।’

कर्णालीको ‘खेलकुद गित’ मा कर्णालीको भाषा, संस्कृति र पर्यटकीय स्थलसँग जोडेर शब्द रचनाको माग गरिएको छ । शब्द रचना परिषदको इमेल karnalisportscouncil@gmail.com  मा पठाउन सकिने छ ।