कर्णालीले बनायो पहिचान झल्किने खेल पोसाक

सुर्खेत – कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरुको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लब बन्यजन्तु, हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटीको आकृति राखिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरुको लागि खेलकुद पोसाक र मार्चपास पोसाक बनाइएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालका अनुसार खेलकुद पोसाक रातो र निलो गरी दुई रङ्गमा छ । भने मार्चपास पोसाक एउटै रङ्गमा रहेको छ । खेलकुद पोसाक र मार्चपास पोसाक महिला र पुरुष दुबै खेलाडीहरुले लगाउन मिल्ने छ ।

मार्चपास पोसाक कर्णालीमा उत्पादन भएको कपडाबाट बनाइएको छ । जसमा टोपी र सुटमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो सहित कर्णाली झल्किने चिन्ह राखिएको छ । भने खेलकुद पोसाकमा कर्णाली नदि, कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लब बन्यजन्तु चौरी राखिएको छ ।

खेलकुद पोसाकमा समेटिएको रातो रङ्ग, नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली वोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले बताउनुभयो ।

सदस्य सचिव संज्यालका अनुसार मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो छ । यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदले कानुनी रुपमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्ने तयारी छ । दर्ता पश्चात अन्य प्रदेशले कर्णालीको रङ्गमा कुनै पनि पोसाक बनाउन पाउने छैन । यदी बनाएमा यसको कपिराइट लाग्नेछ ।

‘खेलाडीले प्रयोग गर्ने पोसाक हिजोका दिनमा खेल सकिए पश्चात गैर खेलाडीहरुले जहाँपनि प्रयोग गरेको पाइयो’ सदस्य सचिव संज्यालले भन्नुभयो, ‘त्यसैले खेलाडीले प्रयोग गर्ने पोसकको महत्व धेरैले बुझेनन् । यसको महत्वको लागि पनि परिषद्ले पोसाक कोड नै बनाएर कर्णालीले आफ्नो छुटटै पोसाक बनाउने निर्णय गरेको हो ।’ कर्णालीका खेलाडीहरुले अब आफ्नै मार्चपास पोसाक र खेलकुद पोसाक नियमित प्रयोग गर्नेछन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले केही समयअघि सार्वजनिक सूचना प्रकाशन गरेर पोसाक डिजाइन आह्वान गरेको थियो ।