पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाबारे छलफल

सुर्खेत – कर्णालीका कर्मचारीलाई पर्यटन रणनीति बनाउन सिकाइएको छ । सुर्खेत आयोजित पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशालाको अवसरमा कर्मचारीलाई पर्यटन रणनीति बनाउन सिकाइएको हो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वनमन्त्रालयको समन्वयमा कार्यशालाको आयोजना गरिएको थियो ।

सो अवसरमा जीवीकोपार्जन विज्ञ तथा परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले कार्यशालामा पर्यटनको सम्भावना भएका र पर्यटन क्षेत्रमा अत्यन्तै राम्रो गरिरहेका स्थानीय सरकारको सिकाई आदानप्रदान गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब स्थानीय सरकारको पर्यटन रणनीति एवं कार्ययोजना तर्जुमा गरी पर्यटनमार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन यो कार्यशालाले सहयोग पुग्ने अपेक्षा छ ।’

उक्त कार्यशालामा कर्णाली प्रदेशका करीब २० स्थानीय तह अन्तर्गतको पर्यटन हेर्ने समितिको संयोजक र पर्यटन शाखा वा योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको सहभागिता थियो । कर्मचारीको थप क्षमता बृद्धि भएकाले अब स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुग्ने मुख्य प्रशिक्षक रमेशकुमार आधिकारीले बताउनुभयो ।

स्थानीय सरकारको क्षमता अभिवृद्धि, आवश्यक पर्ने ज्ञान, सिप विकास गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना कार्यान्वयन गराउन लगाउने ध्येयले कर्मचारीलाई पर्यटन रणनीति बनाउन सिकाइएको छ ।

कार्यक्रमले दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्ने, स्थानीय आर्थिक वृद्धि गर्ने र पर्यटकहरूका लागि जीवन्त र आकर्षक गन्तव्य विकास गर्ने लक्ष्य राखेको छ । कार्यशालामा पर्यटनको विस्तृत बुझाई, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन आदि विषयमा समेत छलफल भएको छ ।