कर्णालीका कृषि अनुसन्धान केन्द्र अर्गानिक उत्पादनमा केन्द्रित

सुर्खेत – कर्णालीका कृषि अनुसन्धान केन्द्रहरु अर्गानिक उत्पादन तथा अनुसन्धानमा केन्द्रित भएका छन् । कर्णाली अर्गानिक प्रदेशको मोडल कार्यान्वयन प्रक्रिया सुरु भएसँगै जुम्ला, दैलेख, सुर्खेत र सल्यानमा रहेका कृषि अनुसन्धान केन्द्र तथा कृषिसँग सम्बन्धित यहाँका कार्यालयहरु अर्गानिक उत्पादन तथा अनुसन्धानमा केन्द्रित भएका हुन् ।

कृषि तथा पशुपंक्षि जन्य वस्तुको क्षेत्रमा गरिरहेको अनुसन्धान तथा उत्पादनलाई पूर्णरुपमा अर्गानिकमय बनाउनका लागि यहाँका कृषि अनुसन्धान केन्द्रहरु लागिपरेका छन् । कृषि तथा पशुपंक्षि जन्य वस्तुको उन्नत जात अनुसन्धान, त्यसलाई आम कृषककामाझ सिफारीसदेखि उत्पादन कार्यमा भएका समस्या र आगामी योजनाको बारेमा बहस सुरु भएको हो ।

कर्णालीका कृषि प्राविधिकहरुले अर्गानिक उत्पादनमा विद्यमान समस्या र समाधानको विकल्पका बारेमा समेत छलफल गरेका छन् । कृषि अनुसन्धान निर्देशनालय, दशरथपुर सुर्खेतको आयोजनामा सम्पन्न प्रादेशिक कृषि प्राविधिक कार्यशाला गोष्ठिका अवसरमा बिषादी रहित उत्पादन तथा अर्गानिक मोडल कार्यान्वयनबारे समिक्षा भएको हो ।

छलफलपछि कर्णालीका कृषि विज्ञ तथा प्राविधिकहरुले अर्गानिक उत्पादन र बजारीकरणमा जोडदिने निश्कर्ष निकालेका हुन् । कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देवनिधि तिवारीले कृषि तथा फलफुल बालीमा अनुसन्धान जारी रहेको भन्दै अब प्रांगारीक अनुसन्धानमा जोड दिने बताउनुभयो ।

यता कृषि विकास निर्देशनालय सुर्खेतका बालि विकास अधिकृत याम बहादुर रानाले कर्णालीका सबै जिल्लामा कृषि तथा फलफुल उत्पादनमा नयाँ रोगकिराको प्रकोप बढेको भन्दै सुर्खेतमा धान, गोलभेडा र सुन्तलामा बढि समस्या देखिएको बताउनुभयो ।

सुर्खेतको दरथरपुरमा प्रांगारीक अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धानको काम थाल्नेगरी डीपीआर समेत तयार गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायत बताउनुहुन्छ । ‘कर्णालीमा हाल अर्गानिक उत्पादनमा विभिन्न रोगकिराको प्रकोप र जोखिम छ’ उहाँले भन्नुभयो, ‘तर यसको विकल्पमा प्रांगारीक मल, वीउ र औषधि उत्पादन तथा खेती प्रविधिको विस्तार गर्ने प्रयास भइरहेको छ ।’

कृषि मन्त्रालयका सचिव डा. नरहरीप्रसाद घिमिरेले कर्णालीलाई स्याउ, सुन्तला, अदुवा र तरकारी बालीबाटै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा प्रांगारीक खेती प्रविधि अपनाइने बताउनुभयो । तरकारी खेतीप्रति कर्णालीका कृषकको आकर्षण बढेकोले प्रदेश सरकारले यसमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।

प्रदेश सरकारका कृषि मन्त्री भिमप्रकाश शर्माले कर्णालीका भर्जिन क्षेत्रमा बिषादी निशेद गर्न निर्देशन दिनुभयो । तर बिषादी प्रयोग भइरहेको ठाउँमा क्रमश कम गर्दै प्रांगारीक खेती प्रविधि अपनाउने गरी काम गर्न कर्मचारीलाई उहाँले सुझाउनुभयो ।