काँक्रेविहार जाने सडक वर्षौंदेखि अस्तव्यस्त, स्थानीय विरोध गर्छन्, सम्बन्धित निकाय सुन्दैन

सुर्खेत – जिल्लाकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अस्तव्यस्त छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको हो ।

ठेकेदार कम्पनीले स्तरोन्नतिको कामबीचमै अलपत्र छोडेपछि लाटीकोइली क्षेत्रका नागरिकलाई मात्रै होइन काँक्रेविहार पुग्ने पर्यटकलाई समेत यात्रामा सास्ती भोग्नुपरेको छ ।

त्यसैमा झन् दैनिक सोही बाटो भएर विद्यालय जाने विद्यार्थीले भोग्नुपरेको सास्ती पीडादायक छ । सडकमा खाल्टाखुल्टीको समस्या पनि उत्तिकै छ । सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था छैन । लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो सडक स्तरोन्नति थालिए पनि काम नै सुस्त गतिमा छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परिरहेको छ ।

स्थानीय विनिता शाहीका अनुसार मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक यात्राको क्रममा बर्खामा धुलो र हिउँदमा हिलाम्यले सास्ती भोग्नु परेको छ । जोखिम सडकका कारण पटक–पटक दुर्घटना समेत हुने गरेको शाही बताउनुहुन्छ । सडक निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिन्छ । त्यसैमा झन् सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

यो सडक निर्माणका लागि यसअघि कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । तर अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ ।

पछिल्लो पटक २०७८ सालमा पुनः सम्झौता पनि गरिएको थियो । तर निर्देशनालयले २०७८ साल मंसिर १४ मा अमर–सिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेपनि निमार्णको काम भएको छैन ।

२०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी योजना सम्झौता भएको थियो । तर उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद पनि थप गरिएको छ । सम्झौता अनुसार २०८० फागुन १५ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको पूर्वाधार निर्देशनालयले जनाएको छ ।

कार्यालयका अनुसार १२ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । तर सम्झौताअनुसार कम्पनीले काम अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४२ प्रतिशत मात्र सकिएको छ । योजनाको पाँच करोड रकम भुक्तानी भइसकेको जनाईएको छ ।
ठेक्का सम्झौता सकिन करिब चार महिना मात्र बाँकी रहेको निर्देशनालयका पूर्वाधार विकास निर्देशक रामशरण आचार्य बताउनुहुन्छ । उहाँका अनुसार ठेकेदार कम्पनीको लापरबाहीले काममा ढिलाइ भइरहेको हो । काम अघि बढाउन कार्यालयले ताकेता दिइरहेको उहाँको भनाइ छ ।
वर्षौदेखि सडक स्तरोन्नति हुन नसकेपछि स्थानीयवासीले विद्यार्थीसहित सडक आन्दोलन गरेका छन् । समयमै मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नति नभएको भन्दै स्थानीय नागरिक आन्दोलित भएका हुन् । दवावमूलक बहस कार्यक्रमसहित मंगलगढी चोकमा टायर बालेर समेत विरोध गरिएको छ ।

मंगलगढी चोकमा विरोध प्रदर्शन, बजार परिक्रमा सहित सडक खण्डमा सवारी साधन निषेधसमेत गरेका गरिए । तर माग सुनुवाइ भएको छैन । ‘स्कुल जाँदा–आउँदा विभिन्न समस्या त छन् नै पढ्ने बेलामा समेत शान्त रूपमा पढ्न पाईदैन’ विद्यार्थी दिनेश बुढाले भनुभयो, ‘पढ्ने बेला आन्दोलन गर्न नहुने भएपनि सहज सडकका लागि हामी बाध्य भएर आन्दोलनमा आएका छौं ।’

ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरी बताउनुुन्छ । वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार विकास निर्देशनालयसँग सडक निर्माणको काम अघि बढाउन माग गरिएको उहँले बताउनुभयो । वडा अध्यक्ष गिरीले भन्नुभयोे, ‘ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती पाइरहेका छन् ।’

स्थानीय लक्ष्मी गौतमले अस्तव्यस्त सडकले सुविधाभन्दा सास्ती धेरै दिएको बताउनुभयो । निर्माणाधीन सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको भन्दै निकै सास्ती भोग्नुपरेको उहाँ बताउनुहुन्छ ।