बाँकेमा कोरोनामुक्त हुनेको संख्या हजार नाघ्यो, सोमबारमात्रै ४० जना डिस्चार्ज

नेपालगञ्ज – बाँके जिल्लामा कोरोनामुक्त हुनेहरुको संख्या हजार भन्दा बढी पुगेको छ । जिल्लामा निको हुनेहरु दिनदिनै बढ्दै गएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु उत्साहित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार सोमबार मात्रै बाँकेमा ४० जनाले कोरोना जितेर संक्रमणमुक्त भै घर फर्किएपछि जिल्लामा निको हुनेहरुको संख्या हजार नाघेको बताए।

उनले सोमबार निको भएका ४० जना मिलाएर बाँकेमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ३६ पुगेको बताए । जिल्लामा हालसम्म एक हजार ४४० जना संक्रमित फेला परेकोमा ८ जनाको मृत्यु भएको र ३९६ जना अझै विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जिल्लामा निको हुने दर हाल आएर झनै बढेको बताए । उनले केही दिन पहिलेसम्म निको हुने दर ७१.११ प्रतिशत रहेकोमा अहिले बढेर ७१.९६ प्रतिशत पुगेको जनाए।

यसैबीच सोमवार मात्रै बाँकेमा तीन बर्षिय बालकसहित ४० जना संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 कार्यालयका अनुसार, निको हुनेहरुमा ७ बर्षिया र ९ बर्षिया बालिकापनि रहेका छन् । ३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।