बाल क्षमता विकास तालिम सम्पन्न, अधिकारदेखि नमूना बाल संसदबारे समिक्षा

सुर्खेत – कर्णाली प्रदेशका बालबालिकाको क्षमता विकासका लागि संचालन भएको ३ दिने तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश बाल क्लव सञ्जालमा आवद्ध कर्णालीका बालबालिकालाई लक्षित गरी बुधबारदेखि तालिम सुरु भएको थियो ।

३ दिने तालिमको अवसरमा बालअधिकार, बालबालिकाको क्षेत्रमा भए गरेका गतिविधि र आगामी योजनाबारे छलफल गरिएको थियो । भने ३ दिने तालिमपछि चौथो दिन शनिबार नमूना बाल सांसदको भुमिकामा बालबालिकाहरुले संसद बैठक संचालनको डेमो देखाएका थिए ।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाका गरी २५ बालबालिका र १० जना अभिभावकको सहभागीता रहेको थियो । तालिम सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश र बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली र सेभ द चिल्ड्रेनको आयोजनामा संचालन भएको हो ।

तालिमको समापनमा बोल्दै प्रदेश सांसद तथा सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले र नमूना बाल सांसदहरुले प्रदेश सभाका सांसद भन्दा राम्रो प्रस्तुतशैलि, बिषय उठान र मर्यादा पालनको भुमिका खेलेको भन्दै प्रगतिको कामना व्यक्त गरे ।

कर्णाली प्रदेश सभा सचिव जिवराज बुढाथोकिले नमूना बाल सांसदहरुको बोलिमा देखिएको ढुक्कता र नयाँ सोचले समाज रुपान्तरणमा समेत सकरात्मक प्रभाव पर्ने बताए । सीसीआर कर्णालीका अध्यक्ष टिकाराम आचार्यले नमूना बाल सांसदहरुलाई तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न र विद्यालय तथा समाजका अन्य बालबालिकालाई पनि सिकाउन अनुरोध गरे ।

तालिमबाट आगामि दिनमा प्रदेश बालक्लव सञ्जालको सक्रियतामा अभिवृद्धि हुने अपेक्षा लिइएको छ । अब प्रदेशका बालबालकाहरुको सवालहरु अध्यावधिक गरि प्रथामिकीकरण हुने र बालअधिकार र बाल क्लवको बारेमा क्षमता विकास हुने अपेक्षा राखिएको सीसीआर कर्णालीका टेकराज आचार्यले बताए ।

यसअघि गत डिसेम्बर २०२२ मा सामाजिक विकास मन्त्रालय, सीसीआर कर्णाली, सेभ द चिल्ड्रेन, यूनिसेफ, प्लान इन्टरनेशनल, केयर नेपाल र कोपिला भ्याली सेवा समाजको संयुक्त साझेदारीतामा प्रथम कर्णाली प्रदेश बाल भेलाको आयोजना गरि २१ सदस्यीय प्रदेश बाल क्लव नेटवर्कको कार्यसमिति चयन गरिएको थियो ।

बालबालिकाको एजेन्सीको रुपमा कर्णाली प्रदेशमा गठित यस प्रदेश बाल क्लव सञ्जालमा आबद्ध पदाधिकारीहरुको लागि, बालअधिकार, पैरवी, अभियान र वकालत तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण, अन्र्त्तवर्गीयता, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता, जलवायू परिर्वतन र वातावरण संरक्षणको सवालमा क्षमता विकास गर्ने उद्धेश्यले क्षमता विकास तालिमको आयोजना गरिएको थियो ।