डा. केसीको १९ औं अनशन जुम्लाबाट सुरु

जुम्ला–चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसी आफ्नो १९ औं अनशन जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ-६ रानीचौरमा रहेको वाविरा मन्दिरमा १९ औं अनशन सुरु भएको हो ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. केसीले प्रतिक्रिया दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने उनको माग छ ।

यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी ,डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।