प्रदेश सभा सदस्य थापामाथि आक्रमण

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य सुशिल थापामाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । भैरवी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम बिथोल्न उनीहरूले आक्रमण गरेका हुन् ।

नेकपा गाउँ कमिटी उपाध्यक्ष, क्षेत्रिय कमिटी सचिव र गाउँपालिकाका निर्वाचित उपाध्यक्षमाथी काङ्ग्रेस कार्यकर्ताहरूले हातपात गरेका छन् । केहीलाई चोटपटक पनि लागेको बताइएको छ ।

भैरवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष विरेन्द्र शाहीले मादक पदार्थ सेवन गरेर ५/६ जनाको सुमहमा आएका कार्यकर्ताहरूले आक्रमणको गरेको बताए । वडा अध्यक्ष शाहीका अनुसार आक्रमण गर्न आएको ति व्यक्तिहरूले नै आफ्नो पार्टीका जिम्मेवार नेताहरूले कार्यक्रम बिथोल्न पठाएको बताएका छन् ।

प्रदेश सभा सदस्य सुशील थापाले आफुलाई लक्षितगरी आक्रमण गरिएको बताए । उनले भने, ‘नेकपा कार्यकता र स्थानीयले सुरक्षा दिएका कारण मलाई कुनै चोटपटक लागेको छैन ।’ दैलेख जिल्लाकै नेपाली काङ्ग्रेसको गढ मानिएको भैरवी गाउपालिका वडा नम्बर ३ का ५० जना कार्यकर्ताहरू नेकपा प्रवेश हुँदै गरेको कार्यक्रम बिथोल्न आक्रमण भएको सांसद थापाले बताए । ‘लोकतान्त्रिक व्यवस्थालाई स्विकार गरेको पार्टीका नेताले आफ्ना कार्यकर्तालाई रक्सी खुवाएर आपराधिक क्रियाकलापमा संलग्न गराउनु निकै दुःखद र निन्दनीय विषय हो ।’ थापाले भने ।

आक्रमण गरिए पनि वडा कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मादक पदार्थ सेवन गरेर आएका कार्यकर्ता मध्ये ३ जनालाई दुल्लु प्रहरीले पक्राउ गरिसकेको छ ।