चिसो सुरु हुँदा पनि घटेन डेंगु संक्रमण, देशभर ३९ हजारभन्दा बढी संक्रमित

काठमाडौं – यो वर्ष असोज सकिँदासम्म डेंगु संक्रमितको संख्या ४० हजारको हाराहारीमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार हाल देशभर ३९ हजार २३० जना डेंगु संक्रमित रहेका छन्। यसैगरी ७६ जिल्लामा संक्रमित रहेका छन् भने ११ अति प्रभावित रहेका छन्।

हुनत अघिल्लो वर्षको अवस्था हेर्ने हो भने हरेक वर्ष डेंगु सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र रूपमा फैलिएर असोज महिना लागेपछि विस्तारै संक्रमण ओरालो लाग्ने गरेको पाइन्छ। यसको मुख्य कारण चिसो मौसम सुरु हुनु र विस्तारै मनसुन बाहिरिदै जाँदा डेंगु संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम हुँदै जानु हो। यो वर्ष भने सेप्टेम्बर असोज महिना बित्संदा पनि संक्रमण बढ्दै गएको छ।

संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए। यो वर्ष डेंगुकै कारण ​जेठयता २० जनाले ज्यान गुमाएका छन्। गत वर्षको साउनमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको सोही समयमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। अघिल्लो वर्ष सेप्टेम्बरमा २७ हजार ५२७ संक्रमित भएकोमा यो वर्ष सेप्टेम्बरमा ११ हजार ५८० जना संक्रमित देखिएका छन्।

यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाईमा ६ हजार ६९ जना संक्रमित भएका छन्। गत वर्ष धेरै जनसंख्या बस्ने काठमाडौं उपत्यकामा धेरै संक्रमित देखिएका थिए तर यो वर्ष सुनसरी, मोरङ‚ झापा लगायतका जिल्लामा डेंगु संक्रमण तीव्र देखिएको छ।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ।

पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु संक्रमण देखिए पनि पछिल्ला वर्षमा नेपालमा वर्षातको समयमा डेंगु रैथाने रोग जस्तै देखिन थालेको छ। जसले गर्दा वर्षाको समयमा जनस्वास्थ्यको ठूलो समस्याको रूपमा देखिने गरेको छ।

नेपालमा हाल डेंगुका ४ वटा प्रकार पुष्टि भएका छन्। तीमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरक(फरक खाले संक्रमण भए निकै गम्भीर असर हुनसक्छ।