साहाराविहिन बालबालिका हुर्काउँदै नव जीजन बाल संरक्षण

सुर्खेत – प्रत्येक बालबाललकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ । तर विभिन्न कारणले कतिपय बालबालिका यो अधिकारबाट बञ्चित छन् ।

आमा, बाबाको सम्बन्ध विच्छेद, निधन जस्ता विभिन कारणले अहिले पनि धेरैजसो बालबालिका आश्रयविहिन हुन पुगेका छन । तीनै आश्रयविहिन बालबालिकाको अभिभावक बनेको छ सुर्खेत स्थित नव जीवन बाल संरक्षण केन्द्र ।

सडक जीवन जिउन बाध्य भएका र आश्रयविहिन हुनपुगेका बालबालिकाहरुलाई संरक्षण गर्दै आएको यस नव जीवन बाल संरक्षण केन्द्रको हाल चौतर्फि प्रशंसा समेत हुन थालेको छ । बाल संरक्षण केन्द्रमा हाल ११ बालक र १६ बालिका गरी २७ जना बालबालिका संरक्षणमा रहेका छन् ।

उचित हेरचाह, लालनपोषणसहित शिक्षा, स्वास्थ्य लगाएत पूर्ण जिम्मेवारीका साथ उनीहरुलाई बाल संरक्षण केन्द्रले हुर्काइराखेको छ । संरक्षणमा रहेका सबै बालबालिका निकै खुसी देखिन्छन् । र उनीहरु अध्ययनसँगै शाररीक र मानसिक रुपमा समेत स्वस्थ बन्न थालेका छन् ।

शनिबार सम्पन्न बाल संरक्षण केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मीले बाल संरक्षण केन्द्र संचालनमा कुनै कमजोरी नरहेको बताइन् । बाल संरक्षण केन्द्रले सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेको भन्दै हालसम्म भएका कामप्रति प्रशंसा व्यक्त गरिन् ।

सो अवसरमा सामाजिक लेखा परीक्षक जनक विसीले बाल संरक्षण केन्द्रको बार्षिक विवरण सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको विवरण अनुसार बाल संरक्षण केन्द्रले किड्सटावन फाउण्डेशनबाट कुल २३ लाख दुई हजार आठ सय चार रुपैंया प्राप्त गरेको थियो । तर आय भन्दा खर्च धेरै भएको देखिन्छ । खर्चतर्फ २५ लाख ३४ हजार ७ सय ३२ रुपैंया रहेको उनले जानकारी दिए ।

बढ्दै गरेको महंगी लगाएत कारणले खर्च बढेको हो । बाल संरक्षण केन्द्रले सबैभन्दा बढि रकम बालबालिकाको खाना र शिक्षामा लगानी गरेको छ । यस्तै उपचार, मनोरञ्जन, खेलकुद, बाल सिप र ज्ञान बृद्धि लगाएतका कार्यक्रममा लगानी हुने गरेको छ ।

बाल संरक्षण केन्द्रका संस्थापक मोहनदास गुरुङले संरक्षण केन्द्रको आयस्रोत केही पनि नरहेको भन्दै विभिन्न संस्था र व्यक्तिको मुठ्ठिदान सहयोगले संचालन भइरहेको जानकारी दिए । २०५४ सालदेखि निस्वार्थ रुपमा संरक्षण केन्द्र संचालन गरिहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको मुठ्ठिदानको खाँचो रहेको उनले बताए ।

सोही अवसरमा बोल्दै अमरज्योती मा.वि का उपप्रध्यापक भुपेन्द्र विसीले बाल संरक्षण केन्द्रले गरिरहेको निस्वार्थ सेवा भन्दा ठुलो धर्म केही पनि नरहेको तर्क गरे । बाल संरक्षण केन्द्रका गोकुल गुरुङले संरक्षण केन्द्रबाट हुर्किएर गएका बालबालिकाले हालसम्म सम्झिरहेको भन्दै चेलीहरुका लागि संरक्षण केन्द्र माइतिघर बनेको उल्लेख गरे ।

टोल विकास समितिका अध्यक्ष मंगल शर्माले बाल संरक्षण केन्द्रको दिगो व्यवस्थापनमा जोड दिदै सेवा विस्तारमा प्राथमिकता दिनुपर्ने तर्क गरे । साथै वीरेन्द्रनगर १० का वडाध्यक्ष डिल बहादुर रखालले मन्दिरमा गएर ढुंगालाई पैंसा चढाउनु भन्दा बाल संरक्षण केन्द्रमा रहेका ज्यूदाँ भगवान बालबालिकालाई सहयोग गर्न आग्रह गरे । साथै उनले वडाको तर्फबाट गर्ने सबै सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

कार्यक्रमको समापन गर्दै बाल संरक्षण केन्द्रका अध्यक्ष राज लामिछानेले प्राप्त सुझाब, सल्लाह र सरकारी ऐन नियम अनुसार संरक्षण केन्द्रलाई अघि बढाउने बताए । साथै बाल संरक्षण केन्द्रले आर्थिक संकलनका लागि फुड फेस्टिवल कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । बालबालिकाले कार्ड बनाएर बेच्ने र टोपी बनाउने सिप पनि सिकेको उनले उल्लेख गरे ।