एमाले कर्णाली : नयाँ नेतृत्व छान्न मतदान सुरु, मत खस्नमा ढिलाई

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार साढे १ बजेदेखि मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको हो ।

१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।
त्यस्तै, सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा छ । उपाध्यक्षमा जुम्लाका टेकराज पछाई र लालबहादुर महतारा, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका धुव्रकुमार शाहीबिच प्रतिस्पर्धा हुनेछ ।

मत खसाल्न ढिलाई

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रियामा निकै ढिलाइ भएको छ । मतदान सुरु भएको १ घण्टामा ७० वटा मात्रै मत खसेका छन् ।

प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालका अनुसार १० जिल्लाका लागि मतदान गर्न फरक फरक मत पेटिका राखिएको छ । तर पनि मतदान पक्रियामा मत खसाल्न ढिलाई भएको हो ।

धेरै उम्मेदवार भएकाले पनि मत खसाल्न ढिलाई भएको हुनसक्ने उहाँ बताउनुहुन्छ । उहाका अनुसार यही रप्तारमा मत खसेमा ६ घण्टा बढि समय लाग्ने देखिन्छ । कुल मतदाताको संख्या ६ सय ४ जना रहेको छ ।