बाँगेशीमलको जंगलमा शव फेला, पहिचान खुलेन

सुर्खेत – वीरेन्द्रनगरस्थित बाँगेशीमल नजिकैको जंगलमा वेवारिसे शव फेला परेको छ । बाँगेशीमलमा रहेको प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिणतर्फ जंगलमा वेवारिसे अवस्थामा शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । खबरपछि प्रहरी चौकी बाँगेशीमलको टोली घटनास्थल पुगेको हो । ‘शवको प्रकृति हेर्दा सडेको अवस्थामा छ,’ घटनास्थलमा पुगेका एक प्रहरीले भने, ‘शरिरमा कपडा छैन, खैरो रंगको कट्टु मात्रै छ । अनुहार चिनिने अवस्थामा छैन् ।’

प्रहरीले शव भेटिएपछि प्रक्रिया पूरा गरेर प्रदेश अस्पतालको पोष्टमार्टम गृहमा पठाएको छ । मृत भेटिएका व्यक्ति पुरुष रहेको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।