युक्रेनलाई हतियार नदिने पोल्यान्डको घोषणा

 

काठमाडौं – पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले अब युक्रेनलाई हतियार नदिने घोषणा गरेका छन् । पोल्यान्डले आफ्नो आन्तरिक रक्षामा ध्यानकेन्द्रित गर्न युक्रेनलाई हतियार नदिने जनाएको हो ।

“हामी अब युक्रेनलाई हतियार पठाउँदैनौँ, किनकि हामी अब पोल्यान्डकै लागि आधुनिक हतियारको व्यवस्था गरिरहेका छौँ,” प्रधानमन्त्री मोराविकीले भनेका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेयता पोल्यान्ड युक्रेनको कट्टर समर्थक बनेको थियो । किभको मुख्य हतियार आपूर्तिकर्तामध्ये पोल्यान्ड महत्त्वपूर्ण रहेको थियो ।

पोल्यान्डले लाखौँ युक्रेनी शरणार्थीलाई शरण दिएको छ । पोल्यान्डले आफ्ना किसानको हितको रक्षा गर्न युक्रेनी अन्न आयातमा प्रतिबन्ध लगाएपछि दुई देशबीच तनाव सुरु भएको थियो । पछिल्ला दिनमा तनाव चर्किएसँगै पोल्यान्डले यस्तो घोषणा गरेको हो ।