आन्दोलनलाई मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसहित शिक्षकका प्रतिनिधिहरुसँग आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै बुधबार काठमाडौंमा भेला भएर विरोध प्रदर्शन गरेका शिक्षकहरुका प्रतिनिधिहरुले बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग संयुक्त छलफल गरेका थिए ।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।