दशैँका लागि यसपालि पनि तीन हजार खसीबोका राजधानी ल्याइने

काठमाडौं – यस वर्ष पनि सरकारले दशैंको लागि ३ हजार खसीबोका काठमाडौं ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाका लागि खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी थालको हो।

कम्पनीले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने स्वीकृत वार्षिक कार्ययोजनाअनुसार छलफल अगाडि बढाइएको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

यद्यपि, कुनकुन जिल्लाबाट खसी बोका, च्याङ्ग्रा ल्याउने भन्ने विषय छलफलकै क्रममा रहेको सुवेदीले बताइन्। फूलपातीको एक दुई दिन अघिमात्रै कम्पनीमा खसीबोका ल्याएर बिक्रि गर्ने तयारी कम्पनीको छ।

सरकारले प्रत्येक वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएको विक्रि गर्ने गरेको छ। गत वर्ष पनि ३ हजार खसीबोका ल्याएको कम्पनीले अघिल्लो वर्ष १५ सय ९ वटा खसी र च्याङ्ग्रा ल्याएको थियो। यसवर्षको दशैँ कात्तिक ४ गते फूलपाति पर्दछ भने विजयदशमीको टीका ७ गते पर्दछ।