विद्यालय ठप्प पारेर काठमाडौंमा उत्रिए देशभरका शिक्षक

काठमाडौँ – सरकारले संसद्‍मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु आन्दोलित भएका छन्।

देशभरबाट आएका हजारौँ शिक्षकहरु बुधबार काठमाडौंको सडकमा उत्रिएका हुन्। विभिन्न प्रदेशबाट गाडी रिजर्भ गरेर आएका शिक्षकहरु काठमामाडौंका चोक चोकमा जम्मा भएर माइतीघर मण्डल पुग्दैछन्।

उनीहरुले शिक्षकको हकहितविरोधी विधेयक ल्याएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित आलोचना गरेका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा थालिएको आन्दोलनमा सामुदायिक र संस्थागत(निजी तथा आवासीय विद्यालयका शिक्षकहरुसमेत सहभागी हुँदैछन्।

देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ।

आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प भएको छ।