जनज्योतिको पढ्दै कमाउँदै कार्यक्रम लागु गर्दै अन्य विद्यालय

सुर्खेत – सुर्खेतको बराहाताल गाउँपालिका स्थित जनज्योति माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्य विद्यालयले पनि लागु गर्न थालेका छन् । हाल यो कार्यक्रमलाई सङ्घीय सरकारलेसमेत अपनत्व लिएको छ । देशभरका ५० बढि विद्यालयमा यो कार्यक्रमा लागू भइसकेको छ । भने कार्यक्रम संचालनका लागि २ सय ४० वटा विद्यालयलाई संघीय सरकारले अनुदान दिएको छ ।

मंगलबार वीरेन्द्रनगरमा सम्पन्न पढ्दै कमाउँदै कार्यक्रमको प्रदेश स्तरीय कार्यशाला गोष्ठिका सहभागीले कार्यक्रम प्रभावकारी बन्दै गएको ठहर गरेका छन् । यो कार्यक्रम प्रदेशभरका सबै विद्यालयमा लागु गर्न आवश्यक रहेको सहभागीको भनाइ थियो । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा गोष्ठी सम्पन्न भयको हो ।

गोष्ठिमा बोल्दै कर्णाली सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले पढ्दै कमाउँदै कार्यक्रम कर्णालीका सबै विद्यालयमा लागुगर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

विद्यार्थीलाई पढाईसँगै व्यवसायमा पनि लाग्न अनुरोध गर्दै त्यसको बजारीकरण जिम्मा प्रदेश सरकारले लिने उनले विश्वास दिलाए । पढ्दै कमाउँदै कार्यक्रमबारे सम्बन्धित सरोकारवालासँग छलफल गरेर अघि बढ्ने मन्त्री शर्माको भनाइ छ ।

जनज्योति माध्यमिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरु पढाइसँगै कृषिमा पनि आबद्ध भएका छन् । कृषिमा आबद्ध विद्यार्थीले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका हुन् ।

जनज्योति मावीका प्रधानाध्यापक नारायण सिक्देलले शिक्षालाई आयआर्जनसँग जोड्नसके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताए । उनका अनुसार शिक्षालाई व्यावहारिक बनाउनुका साथैर पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न र विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।

विसं २०६८ देखि प्राविधिक विषय अध्यापन सुरु भएको जनज्योति माविमा २६ बढि जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । कृषि विषय अध्ययन गर्ने विद्यार्थीलाई च्याउ खेती, पशुपालन, तरकारी खेतीका लागि ऋणसहित खेतीयोग्य जमिन उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले कृषि उत्पादनमा लागेर विद्यालयको मासिक शुल्क बुझाएर बचतसमेत गर्ने गरेका छन् ।

पढ्दै कमाउँदै कार्यक्रमलाई बराहाताल गाउँपालिकाले पनि प्रत्येक विद्यालयमा लागू गर्नेयोजना बनाएको छ । विद्यालयलाई आवश्यक जग्गा उपलब्ध गाराइदिनेदेखि व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाको योजना छ ।