काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन्।
बुधवार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले)भित्र विस्फोट र विद्रोह हुने बताएका हुन्। उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए।
उनले एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उल्लेख गरे। उनले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि बताए।
‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ। र हामीले सही बाटो लिएर अगाडि बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्र व्यापी पार्टी बन्नसक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देश व्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्ति भित्र अब पहिरो जान्छ’, उनले भने, ‘अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। र एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँ भित्र उथलपुथल हुन्छ। विस्फोट हुनसक्छ। विभिन्न खालका विस्फोट र विद्रोहहरू हुन सक्छन्। यसकारणले हामी सहि कार्यदिशा लिउँ। सहि विचार लिउँ। र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ। यसलाई व्यापक बनाएर लैजाऔँ। र त्यही सहि विचारको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पनि गर्नुपर्नेछ।’