नेपालगञ्जमा रोकिए प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय दलको बैठक अनिश्चित

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरू बैठक अनिश्चित भएको छ । मौसम खराबीका कारण प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जमा रोकिएकाले बैठक अनिश्चित भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

‘मौसम खराबीका कारण प्रधानमन्त्रीज्यू नेपालगञ्जमा रोकिनुभएको छ’, उनले भने, ‘उहाँ काठमाडौँ फर्किएपछि साँझ बैठक बस्न पनि सक्छ । निश्चित भएको छैन ।’

माओवादी केन्द्र कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड सोमबार सुर्खेत गएका थिए । बैठकमा भाग लिन काठमाडौँ आउन लागेका उनी मौसम नसुध्रिएपछि नेपालगञ्जमा रोकिएका हुन् ।

संसदमा जारी अवरोधलगायत विषयमा छलफल गर्न प्रचण्डले आइतबार बैठक बोलाएका थिए । बैठक बिनानिष्कर्ष टुंगिएपछि आज दिउँसो ४ बजे बैठक बस्ने भनिएको थियो ।