निर्णयबाट पछिहट्यो प्राधिकरण, हवाइ उडान नियमित हुने

फाइल तस्विर

सुर्खेत – नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडानमा लगाएको प्रतिबन्द हटाएको छ । हवाई उडानसम्बन्धी यसअघि गरेको निर्णय सच्चाउदै अब पहिलेकै नियम लागु गर्ने निर्णय गरेको हो ।

यस प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो । साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो ।

तर प्राधिकरणले बिहिबार एक विज्ञप्ति जारी गर्दै यसअघिको निर्णयबाट पछि हटेर अब पहिलेकै नियम लागु गर्ने जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यो नियम आन्तरिक वायुयान सञ्चालन गर्ने वायुसेवा तथा हेलिकोप्टरको हकमा लागू हुनेछ ।

प्राधिकरणले अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भीजीबीलीटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चितता पछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने जनाएको छ । भीएमसी भनेको मौसम सफा भए÷नभएको जानकारी हो ।

गत साउन १२ गते प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई व्यवसाय नै जोखिममा पार्ने गरी उडान सम्बन्धी नयाँ नियम ल्याएका थिए । उक्त नियमको कर्णालीमा चौतर्फी विरोध भएपछि उनी सो निर्णयबाट पछि हटेका हुन् ।
यसअघिको निर्णयले पहाडी जिल्लामा बिरामीहरूको उद्धार नहुँदा उनीहरूको ज्यानै जोखिममा पर्ने अवस्था थियो । सोही कारण हुम्लाका चार जना बालकले जहाज कुर्दाकुर्दै ज्यान गुमाएका थिए ।

बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटन मन्त्री सुदन किराँती र महानिर्देशक अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो । प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाका अनुसार उक्त छलफलमा महानिर्देशक अधिकारीको चर्को आलोचना समेत भएको थियो ।

कर्णालीवासीको समस्या सुनेपछि मन्त्री किराँतीले तीन दिनभित्रमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आफ्नो प्रतिबद्धता अनुसार तत्काल पुरानो नियम खारेज गर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि महानिर्देशक अधिकारी आफ्नो पुरानो निर्णय सच्चाउन तयार भएका हुन् ।

त्यसअघि कर्णालीका सरोकारवालाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो गरेका थिए । नियमित उडानको माग गर्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा समेत अवरुद्ध गरेको थियो ।