लम्पि स्किनको खोपमा कालोबजारी, कर्णाली सरकार ठगियो

सुर्खेत – पशुचौपायामा महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध लगाइने खोप बिक्री वितरणमा कालोबजारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले अधिकतम एक सय ४० रुपैयाँ पर्ने खोप खरिद गर्दा दुई सय १० रुपैयाँ भुक्तानी गरेको हो ।

संघीय सरकारअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार खोपको अधिकतम मूल्य (एमआरपी) एक सय ४० रुपैयाँ मात्र हो । तर प्रतिखोप ७० रुपैयाँ बढी लिएर वनदेवी एग्रोभेट फर्मा काठमाडौंले कर्णाली प्रदेश सरकारलाई बेचेको छ । मन्त्रालयले खरिद गरेको दुई हजार पाँच सय खोपको मुल्य एक सय ४० रुपैयाँको दरले तीन लाख ५० हजार हुन आउँछ । तर वनदेवी एग्रोभेटले एक लाख ७५ हजार रकम बढि लिएपछि मन्त्रालयले पाँच लाख २५ हजार भुक्तानी गरेको छ ।

मन्त्रालयका पशुपंक्षी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काका अनुसार खोप खरिदका लागि कर्णाली प्रदेशका सातवटा जिल्लालाई पाँचदेखि आठ लाखसम्म गरी कुल ४० लाख रकम बाँडिएको थियो ।

‘सुरुमा खोप बिक्रिका लागि अन्य एग्रोभेटले अनुमति लिएका थिएनन् । खोप पाउन पनि मुस्किल थियो । हामीले वनदेवी एग्रोभेटबाटै खोप खरिद गर्यौ’ उनले भने, ‘वनदेवीले प्रतिखोप दुई सय १० रुपैयाँका दरले बिल पठाएपछि हामीले सोही अनुसार भुक्तानी गरेका हौं ।’

कर्णालीस्थित पशुपन्छी विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म १६ हजार नौ सय २६ गोटा खोप लगाइएको छ । जसमध्ये कतिपय स्थानमा पालिकाहरू आफैंले पनि खोप किनेका छन् । कर्णालीमा खरिद भएको १६ हजार नौ सय २६ गोटा खोपमा वनदेवी एग्रोभेट फर्माले ११ लाख ८४ हजार आठ सय २० रुपैयाँ बढी लिएर कालोबजारी गरेको देखिन्छ ।

कुन जिल्लामा कति खोप ?

कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म लम्पि स्किन रोगविरुद्धको १६ हजार नौ सय २६ गोटा खोप पशुचौपायलाई लगाइएको छ ।

जसमध्ये हुम्लामा एक हजार पाँच सय २५, डोल्पामा दुई हजार आठ सय ५०, मुगुमा तीन हजार नौ सय ५०, जुम्ला पाँच सय, कालिकोट एक हजार सात सय ६९, दैलेख ६ सय २० र सुर्खेतमा दुई हजार आठ सय ५७ वटा खोप पशुचौपायालाई लगाइएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

यस्तै सल्यानमा एक हजार दूई सय पाँच र रुकुमपश्चिममा एक हजार एक सय ७५ र जाजरकोट जिल्लामा चार सय ७५ वटा खोप लगाइएको तथ्यांकमा उल्लेख छ ।

११ हजार ६३८ पशुचौपाया मरे

कर्णाली प्रदेशमा लम्पि स्किन रोगका कारण हालसम्म ११ हजार ६ सय ३८ पशुचौपाया मरेका छन् । मर्ने पशुचौपायामा बाच्छा÷बाच्छी, गाई÷गोरु, भैंसी र चौंरी रहेका छन् ।

कुल दुई लाख ३८ हजार दुई सय एक पशुचौपाया लम्पि स्किन रोगको संक्रमण हुदाँ एक लाख ६९ हजार सात सय १२ पशुचौपायालाई उपचार गरिएको छ ।

मर्ने पशुचौपायामध्ये हुम्लामा दुई हजार एक सय २५, डोल्पामा सात सय २३, मुगुमा दुई सय ४८, जुम्ला पाँच सय ७४, कालिकोट एक हजार पाँच् सय १३, दैलेख ६ सय ३७ र सुर्खेतमा एक हजार तीन सय ६४ वटा पशुचौपाया मरेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

यस्तै सल्यानमा एक हजार ३५ र रुकुमपश्चिममा पाँच सय ४२ र जाजरकोट जिल्लामा दुई हजार आठ सय ७७ वटा पशुचौपाया मरेका हुन् ।