स्थानीयले दिए लामाजुरामा हेलिकोप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै

काठमाडौँ – मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर प्रहरीलाई दिएका छन्।

लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका(२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

​नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको हो।

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले बताए। दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका(२ लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा थियो।

लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकोप्टर बेपत्ता भएको हो। लामाजुरासम्म लुक्ला टावरले हेर्ने गर्छ।

त्यसयता हेलिकोप्टर काठमाडौं टावरसँगको सम्पर्कमा आउनुपर्ने थियो। उक्त हेलिकोप्टर सम्पर्कविहीन भएको पुष्टि त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि गरेका छन्।

हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना नेपाली पाइलट सवार थिए।  पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ।