आज सबै प्रदेशमा पानी पर्ने, भोलिबाट वर्षा अझ बढ्ने

काठमाडौँ – आज (आइतबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

अहिले बिहान पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

‘आज सबै प्रदेशमा पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘आज हिजोअस्तिको भन्दा केही कम वर्षा हुने सम्भावना छ, तर भोलि (सोमबार) बाट वर्षा अलि बढ्ने सम्भावना छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण हुँदा वर्षा केही कम हुने र उत्तर सर्दा वर्षा बढ्ने गर्छ।

‘आज न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ, त्यसैले हिजोअस्तिभन्दा वर्षा अलि कम हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘भोलिचाहिँ यो रेखा सरदर स्थानभन्दा उत्तर आउने भएकाले वर्षा बढ्ने सम्भावना देखिएको हो।’

यसैबीच आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी मंगलबारसम्म यस्तो छ वर्षाको सम्भावना–

असार २४ आइतबार (आज)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानण्मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।