माधवजी र मैले नेकपा तिर फर्किनुपर्छ भनेका छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकता बचाउन नसकेकोमा दुखेसो पोखेका छन्।

आइतबार ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट एकता बचाउन नसकेको भन्दै दुखेसो पोखेका हुन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र आफूले नेकपा ब्यूँत्याउने विषयमा छलफल गरिरहेको समेत बताए।

‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरूसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फ र समाजवादतिर पनि जान सकिन्छ भनेको थिएँ। र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरूमा एउटा आंतक जस्तो भयो। अब कम्युनिष्टहरूले ४०र५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो। तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं। त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन,’ उनले भने, ‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृति र भावनामा कहाँ त्रूटी थियो। के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ। अहिले कमरेड माधव, म लगायत विप्लव, उपेन्द्रजीले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध बनािउने पहल सुरू गरिसकेका छौं। माधवजी र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्किनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं।’

प्रधानमन्त्री प्रचण्डले विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको बताउँदै फेरि एकचोटी विचार गर्नुपरेको बताए।