यी १८ अभियुक्तलाई जेल हाल्ने कि धरौटी वा तारेखमा छाड्ने आदेश आज

काठमाडौँ –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा तारेखमा छाड्ने भन्ने विषयमा आज (शुक्रबार) निर्णय हुँदै छ।

थुनछेक बहस भएको काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसले आज हिरासतमा रहेका अभिुक्तलाई कारागारभित्र राख्ने कि बाहिर भन्ने आदेश दिने भएको हो।

बिहीबार अभियुक्ततर्फका वकिलहरूले प्रतिरक्षा बहस सकेसँगै आज सरकारी वकिलहरूले जवाफी बहस गर्ने र त्यसपछि न्यायाधीश न्यौपानेले थुनछेक आदेश दिने तय भएको छ।

आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने छन्। जवाफी बहस सुनिसकेपछि न्यायाधीशले आदेश दिनेछन्।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने भनी लाखौँ ठगी गरेको अभियोगमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।

अभियोग लागेका १२ जना भने फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ।

उनीहरुविरुद्ध गत जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो।