एसिड आक्रमण गर्नेलाई कडा कारवाही गर्न अध्यादेश ल्याइँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानुनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाएका छन्। एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरूसँग बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाएका हुन्।

एसिड आक्रमणजस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न अहिलेसम्म कडा कानून नभएको उल्लेख गर्दै उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार हुने बताए। कोरोना महामारीका कारण संसदबाट कानुन ल्याउन समय लाग्ने भएकाले अध्यादेशमार्फत कानुनको मस्यौदा तयार गरिने उनको भनाइ छ। ‘एसिड आक्रमणबाट अपुरणीय क्षति हुन्छ।

 

त्यसका लागि कडा सजायको व्यवस्थाका लागि संसदले कानून पारित गर्नुपर्छ’, ओलीले भने, ‘अहिलेको अवस्थामा सम्भवतः अध्यादेशको बाटोबाट जानुपर्छ होला। कानुन निर्माणका लागि १५ दिनभित्र मस्यौदा तयार गर्ने तयारीमा सरकार जुटेको छ।’’

प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानुनमा हुने बताए। ‘पीडितका लागि वास्तविक क्षतिपूर्ति भन्ने नभएपनि अपराधीबाट औषधिको व्यवस्था लामो समयसम्म गराउने, उपचारको प्रवन्ध मिलाउने गरी उसको सम्पत्ति रोक्का गरिन्छ’, उनले भने, ‘रोक्का गरिएको सम्पत्ति उपचारका लागि अपुग भए पनि तत्काल रोक्का गरी जफत गरिनेछ।’

प्रधानमन्त्री ओलीले आक्रमणमा परेको पीडितलाई तत्काल अस्पताल पु¥याउने प्रवन्ध गर्दा असहयोग गर्नेलाई पनि कारवाहीको भागिदार बनाउने गरी कानूनमा व्यवस्था गरिने बताए। उनले स्वास्थ्योपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने बताएका छन्।

?

प्रधानमन्त्री ओलीले घटना भएको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा व्यवसाय तथा रोजगारीको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा समेत गरेका छन्। उपचारका लागि ढुक्क हुन पनि उनले आग्रह गरेका छन्। ‘उपचारका लागि अब ढुक्क भए हुन्छ।

सरकारले घटना घट्ने बेलादेखि अस्पतालको सम्पूर्ण खर्च व्यहोर्छ। औषधि कसरी किन्ने, अस्पतालको खर्च कसरी व्यहोर्ने भन्ने कुरामा अफ्ठ्यारो मान्नुपर्दैन’, उनले भने, ‘औषधि किन्‍ने बिल बुझाइदिने वा आइडी कार्ड बनाउने औषधि लिने ठाउँमा आइडी कार्ड दिने आउने। सम्बन्धित औषधि बिक्रेताले कार्ड पठाउँछ र बिल भुक्तानी लिन्छन्।’’ उनले पढ्ने उमेर पुगेका वा पढ्न इच्छा गर्ने पीडितहरूको पढाइको व्यवस्था पनि सरकारले व्यहोर्ने बताए। ‘पढ्ने उमेर पुगेका या अरु उमेरका पनि पढ्न इच्छा गर्नेहरुले पढाइका लागि चिन्ता लिनु पर्दैन।

जुन विषय पढ्न चाहाने हो त्यसका लागि योग्यता आफुले बनाउनुपर्यो। नर्सिङ, इञ्जिनियरिङ, म्यानेजमेन्ट जे पनि पढ्न पाइन्छ’, उनले अगाडि थपे, ‘तर पढ्ने कुरामा अंक प्राप्त गर्ने विषयमा विश्व विद्यालयले, विद्यालयले सहुलियत प्रदान गर्दैन। त्यो आफुले मेहनत गर्ने हो त्यसका लागि सहयोग साथ सरकारको रहन्छ। कसरी पढ्ने होला भन्ने मनमा चिन्ता छ भने आजका मितिदेखि हटाइदिए हुन्छ।’’ प्रधानमन्त्री ओलीले पीडितले आफुले रोजेकै विद्यालयमा अध्ययन गर्न सम्भव नभएपनि सरकारले राम्रो विद्यालयमा अध्ययनको व्यवस्था मिलाउने बताए।

प्रधानमन्त्रीले पढ्न उमेर नभएका वा इच्छा नभएकाहरुको लागि रोजगारी, व्यवसाय र जीविकाको प्रवन्ध पनि सरकारले गर्ने बताएका छन्। रोजगारी गर्नका लागि दक्षता नभएकाहरुलाई तालिम दिएर दक्ष बनाइने उल्लेख गर्दै उनले आफ्नो व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि सरकारले व्यवसायिक तालिम र सहुलियत ऋणको प्रवन्ध मिलाउने पनि बताए। प्रधानमन्त्री ओलीले अन्तरक्रिया कार्यक्रममा घोषणा गरेका बाहेकका केही कार्यक्रम आगामी सोमबारसम्म मन्त्रिपरिषद्बाट घोषणा हुनेसमेत बताएका छन्। १२ जना एसिड पीडितहरुसँगको भेटमा प्रधानमन्त्री

ओलीले आफुले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा आए भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने बताए। सम्भव भए सेप्टेम्बर १० लाई एसिड आक्रमणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत उनले बताएका छन्। बालुवाटारमा भएको भेटमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थित थिए। (थाहाखबर)