यी हुन् डेंगी नियन्त्रणका तीन उपाय

काठमाडौं – पछिल्लो पाँच महिनामा देशभर सातसय जनामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता मे अन्तिमसम्म ४७ जिल्लाका सातसय जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला वर्षहरूमा लामखुट्टेजन्य रोगहरू पहाडी जिल्ला र काठमाडौं उपत्यकामा बढी देखिँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

सवारीका साधन र मानिसहरूको आवतजावत लामखुट्टेका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने माध्यम भएको विज्ञहरू बताउँछन् । त्यस्तै, ‘ग्लोबल वार्मिङ’ लामखुट्टेका माथि माथि जाने प्रमुख कारण भएको वातावरणविद्हरूको भनाइ छ ।

साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, साँझ बिहान सकेसम्म बाहिर ननिस्कनु, निस्कनै परे लामो बाहुला भएको लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपायहरू हुन् ।

त्यस्तै घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनु र डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनु डेङ्गुबाट बच्ने प्रभावकारी उपायहरू हुन् ।

डेंगी नियन्त्रण गर्न सरकारले अघिल्ला वर्षहरूमा विभिन्न अभियान सञ्चालन गरेको थियो ।

डेंगी नियन्त्रणका तीन उपाय

– लामखुट्टेको वृद्धि विकास रोक्न फुल पार्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला, टायर वा कुनैपनि खुला भाडामा पानी जम्न नदिने,

– लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउने

– डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउने