सुर्खेत – वीरेन्द्रनगरमा गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल तथा तालिम सम्पन्न भएको छ ।
स्वाथ्यसेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न तीन दिने तालिमको अवसरमा गर्भपतन सम्बन्धि मुल्यमान्यता र व्यवहार रुपान्तरणबारे छलफल भएको हो । उक्त अवसरमा तालिममा सहभागी सरोकारवालाले सुरक्षित गर्भपतन सेवा र यौन तथा प्रजनन स्वास्थ्यबारे स्कुल स्तरबाटै किशोर किशोरीलाई जानकारी दिनुपर्ने बताएका छन् ।
उनीहरुले सबैभन्दा यसबारे पहिले सोचाइमा धारणा परिर्वतन गर्ने खालका अभियानहरु सञ्चालन गरिनुपर्नेमा पनि जोड दिएका थिए । गर्भपतन गराउनु पाप हो, यसले स्तनको क्यान्सर बढाउछ, गर्भपतन सेवालाई खुल्ला छाड्नु हुदैन भन्ने जस्ता समाजमा गलत धारणा रहेकाले यस्तो अवस्था परिवर्तनका लागि अझै जनचेतनाका अभियान सञ्चालन गर्नुपर्ने तालिममा सहभागीको भनाइ थियो।
तालिमका सहभागी तथा स्वास्थ्यकर्मी संगिता केसीले समाजमा एउटा गर्भपतन गराउनु भनेको धेरै बच्चा जन्माउनु जत्तिकै जटिल हुन्छ भन्ने जस्ता गलत धारणा रहेकाले यसलाई हटाउन आवश्यक रहेको बताईन् । सुरक्षित गर्भपतनका कुरालाई सामाजिक धारणा नभई वैज्ञानिक ढंगबाट हेरिनुपर्ने उनकोे भनाई छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत वरिष्ठ जनस्वाथ्य अधिकृत करुणा भट्टराइका अनुसार नेपालममा गर्भपतनसंग सम्बन्धित जटिलताका कारणले ७ प्रतिशत महिलाको मृत्युहुने गरेको तथ्यांक रहेको बताईन ।
यस्ता छन्, गर्भपतनसँग सम्बन्धि कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ अनुसार महिलाहरुले निम्न अवस्थामा गर्भपतन गर्न पाउने अधिकार रहेको छ ।
– गर्भवती महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ,
– गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,
– जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले अठ्ठाईस हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था रहेको छ ।
– रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आइ.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेखण्डमा महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,
– भ्रुणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मे र पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशानुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भू्रणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउन सकिने कानुनी प्रावधान रहेको छ ।
सुरक्षित गर्भपतन सेवाका फाइदाहरु
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराइका अनुसार सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा फाईदा पु¥याउछ । किनकी महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि अधिकारको सुनिश्चित गर्न र असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्युदर कम गर्न सुरक्षित गर्भपतन गर्दा उपयुक्त हुन्छ ।
उनका अनुसार अमानविय र असुरक्षित गर्भपतनको रोकथाम गर्न, महिलाहरुको सशक्तिकरणको लागि टेवा पु¥याई दिगो विकास गर्न, वलात्कार, हाडनाता करणीबाट रहन गएको अनिच्छित गर्भको समस्या निराकरण गर्न, अनियोजित तथा अनिच्छित गर्भको निरन्तरताबाट पर्ने प्रभावलाई कम गर्न पनि सुरक्षित गर्भपतन उपयुक्त हुन्छ । साथै उनका अनुसार गर्भपतन सेवा नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्यसंस्था तथा तालिम प्राप्त स्वाथ्यकर्मीबाट मात्र लिन अनुरोध छ ।