रक्तअल्पताले बालबालिकामा पर्ने असरबारे सचेत हौं : डा. केसी

सुर्खेत – रक्तअल्पता भन्नाले शरिरमा रगतको मात्रा शरिरलाई नियमित कामहरु गर्नको लागि चाहिने जति भन्दा कम हुनु हो । रक्तअल्पता हुदाँ शरिरले चाहेजति गुल्कोज, अक्सिजन, एक ठाउँबाट अर्को ठाउँ पु¥याउन सक्दैन । त्यसैले दिमाग, मुटु जस्ता अंगहरुको राम्रो विकास हुन सक्दैन । पछिल्लो समय कर्णाली प्रदेशमा भने बालबालिकामा देखिने रक्तअल्पता घट्दै गएकोे छ ।

नेपाल पारिवारीक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार कर्णालीमा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ३९.८ प्रतिशत रहेको छ । २०१६ मा ४८ दशमलव चार प्रतिशत पाँच बर्ष मुनिका बालबालिकामा रक्तअल्पता हुने गरेको पाईन्थ्यो । बालबालिकामा हुने रक्तअल्पता विगतका तुलनामा क्रमश घट्दै गएको भएपनि कर्णालीको वर्तमान अवस्था चिन्ताजनक नै रहेको छ ।

बालरोग विषशेज्ञ डा. नवराज केसीका अनुसार जब शरिरमा रगतको मात्रा कम हुन जान्छ । तब शरिरले चाहेजति गुल्कोज, अक्सिजन, एक ठाउँबाट अर्को ठाउँ पु¥याउन सक्दैन । त्यसैले दिमाग, मुटु जस्ता अंगहरुको राम्रो विकास हुन सक्दैन । जसले गर्दा भावनात्मक रुपमा बालबालिका बढी त्रसित हुने, पढाएको कुरा राम्रोसँग नबुज्ने, तौल, उचाईको राम्रो बिकास हुन नसक्ने, उचित व्यायाम गर्न नसक्ने, रिसालु हुने, भनेको नमान्ने, स्मरण शक्ति कमजोर हुने, धैर्यताको कमि, डिप्रेशन जस्ता दीर्घकालीन रोग समेत रक्तअल्पताले निम्त्याउन सक्छ ।

डा. केसीले भने, ‘बालबालिकाहरुको ठुलो मान्छे जस्तो शरिर चल्ने मात्र नभएर विकास पनि भइरहेको हुन्छ । त्यसैले बालकालिकालाई रक्तअल्पता छ वा छैन भनेर नियमित रुपमा बाल रोग विषशेज्ञसंग परामर्श गरिराख्न जरुरी हुन्छ ।’

रक्तअल्पताका कारण

डा. केसीका अनुसार रक्तअल्पताका कारणहरु धेरै हुन्छन् । तर सबैभन्दा महत्वपूर्ण कारण बालबालिकाको पेटमा हुने जुकाले गर्दा रक्त अल्पता हुन्छ । शरिरको कुनै अंगबाट रगत अलि अलि गरेर बग्नु । जुकाले आन्द्रामा अड्किएर बच्चाको शरिरको रगत चुसिरहन्छ । त्यसले गर्दा बच्चाको शरिरमा रगतको मात्रा कम हुन जान्छ । त्यस्तै बच्चाको शरीरले आफै रगत बनाउन नसक्नु हो । प्रत्येक बनेको रगतको जुन सेल अथवा कोशिका हुन्छ, त्यो एक सय २० दिनमा मर्छ र नयाँ रगत बन्छ । तर अन्य कारण शरिरले चाहिने मात्रामा रगत उत्पादन गर्न सकेन भने रक्तअल्पता हुन्छ । यो खानामा आइरनको कमीले गर्दा पनि हुन्छ ।

‘अन्य रोगहरुले पनि रक्त अल्पताको समस्या निम्त्याउछ । हड्डिको बोनम्यारोमा रगतको मात्रा बन्न सकेन भने पनि समस्या हुन्छ । यस्ता ब्यतिहरुलाई जीवनभर रगत चढाउनुपर्ने हुन्छ अथवा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ’ डा. केसीले भने, ‘आमाको खानपान राम्रो छैन । रगतको मात्रा कम छ । आइरनको कमि छ र बाहिरबाट आइरन दिइएन भने रगतको मात्रा कम हुन जान्छ ।’

डा. केसीका अनुसार हुर्कदै गरेका बालबालिकाले गाढा हरियो रङको तरकारी, गेडागुडि, माछामासु, कलेजो नखादा आइरनको कमि हुन्छ र रक्तअल्पता हुन जान्छ । जसले गर्दा बच्चाको अर्को रगतको कोशिकाको आकार गलत बन्ने र गलत बनेकै कारणले कोशिका चाडै मर्ने भएको हुँदा रगतको मात्रा कम हुने हुन्छ । यसका साथै सिक्कल सेल एनिमिया भन्ने रोगले रगतको मात्रा कम गराउँछ । यो रोग चौधरी समुदायमा बढि देखिन्छ । यसको लक्षण थकित हुने, जोर्निहरु दुख्ने हुन्छ । यस्तो लक्षण देखिए सिक्कल सेलको जाँच गर्न अनिवार्य हुन्छ ।

समाधानका उपायहरु

बालरोग विषशेज्ञ डा. नवराज केसीका अनुसार, रक्तअल्पताबाट बच्चालाई जोगाउनको लागि जुकाको औषधि नियमित खुवाउने, आमाहरु तथा परिवारले रगत बढाउने आइरन युक्त खानेकुराको बारेमा जानकारी राख्नुकासाथै नियमित खाने र बच्चालाई खुवाउने गर्नपर्दछ । जस्तै ः माछा मासु, पनिर, उसिनेको अण्डा, नेपालको पहाडतिर उत्पादन भएका गेडागुडि, गाढा हरियो रङको तरकारी आइरनका स्रोतहरु हुन् । साथै हरियो सागहरु बढि खाने, बच्चा सेतो फुर्सो देखियो भने रगतको जाँच गराउने, खानाको कमिबाहेक अन्य रोगहरु जस्तै बोनम्यारो, आन्द्राबबाट नियमित रगतबगेर रहेछ भने उपचार समयमै गर्नुपर्दछ ।