तेस्रो राष्ट्रपति आज, मत परिणाम ७ बजेसम्म आइसक्ने

काठमाडौँ – मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज (बिहीबार) संसद् भवन बानेश्वरमा हुने निर्वाचनमा दुई पूर्वसभामुख रामचन्द्र पौडेल (कांग्रेस) र सुवासचन्द्र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । ‘३ बजे मतदान सकिएपछि ४ बजेबाटै गणना सुरु गर्छौं,’ उनले भने, ‘ढिलोमा ७ बजेसम्म परिणाम आइसक्छ ।’

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । केही दिनअघि मृत्यु भएका जसपाका प्रतिनिधिसभा सांसद सहनाज रहमानको मतभार पनि यसमा जोडिएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम पनि समावेश छ ।

निर्वाचन अधिकृत पौडेलले रहमानको मृत्यु भएको जानकारी आइनसकेकाले उनको मतभार कायम राखिएको बताए । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले मतदान अधिकृतले के गर्ने भनेर निर्देशन मागेमा आयोगले निकास दिने बताए । ‘रहमानको मृत्यु भएको जानकारी आयोगमा आइसकेको छ, मतदान अधिकृतले कुन मतभार कायम गर्ने भन्ने विषयमा निर्देशन मागेमा आयोगले निकास दिन सक्नेछ,’ उनले भने ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ ।

तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । यो मतदानबाट पनि कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

सत्ता गठबन्धनका नौ दलले प्रदेशसभा सदस्यलाई बुधबारै काठमाडौं आइसक्न निर्देशन दिइसकेका थिए । दुवै उम्मेदवारले आफ्नो पक्षमा रहेका मतदातालाई प्रशिक्षणसमेत दिएका छन् । आयोगले मत बदर नहोस् भनेर यसपालि उम्मेदवारको चिह्नभन्दा पनि फोटोसहितको मतपत्र छपाइ गरेको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, संसद् सचिवालयबाट जारी भएको परिचयपत्र, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये जुनसुकै परिचयपत्रका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानस्थलमा मोबाइल लैजान निषेध गरिएको निर्वाचन अधिकृत पौडेलले बताए । ‘स्थानीय र प्रतिनिधिसभामा जुन नियम लागू हुन्छ, राष्ट्रपति निर्वाचनमा पनि उही नियम हुन्छ,’ उनले भने ।

निर्वाचनका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ । ५ सय ५० प्रदेशसभा सदस्यका लागि एउटा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य ३ सय ३१ जनाका लागि अर्को मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा केन्द्रमा सात जना कर्मचारी खटिनेछन् । – kantipur