काठमाडौं – आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ ।
२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो ।
पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गर्नु भएको थियो ।
दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराउनु भएको थियो ।
संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्दै नजरबन्दमा राख्नुभएको थियो । सञ्चारमाध्यमहरुमा समेत सेना खटाएर नियन्त्रण गरिएको थियो ।
ज्ञानेन्द्र शाहको यही कदमले सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई जनआन्दोलन भयो । अन्ततः २०६२ चैत २४ गते सुरू भई २०६३ बैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनको बलमा राजा ज्ञानेन्द्र संसद पुनर्स्थापना गर्न बाध्य हुनुभयो ।
राजा आफैंले पुनर्स्थापना गरेको संसदले राजतन्त्रका सम्पूर्ण अधिकार छिन्दै अन्ततः २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रको अन्त्यको घोषणा गर्यो ।
त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा गएको छ ।
संविधानसभाले लिएको निर्णय पालनाका साथ राजा ज्ञानेन्द्रले टेलिभिजन सम्बोधनमार्फत् ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिनभएको थियो ।
मुलुकले राजा फालेर गणतन्त्र अंगिकार गरेको डेढ दशकको अवधिमा पनि मुलुकको राजनीति, विकास र चेतनाको स्तरमा खासै परिवर्तन देखिएको छैन ।