काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन प्रधानमन्त्रीसँग सहयोग मागेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा थापाथलीमा रहेका सुकुम्वासी हटाउन सरकारको सहयोग माग गरेका हुन् ।
सोमबार बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग यस्तो सहयोग मागेका हुन् ।
मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।
सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
त्यसलगत्तै सहयोग माग्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मेयर बालेन पुगेका थिए ।
तर देउवाले सुकुम्वासी समस्या दबाबले समाधान गर्न नसकिने भन्दै सरकारको समन्वयबिना किन हटाउने प्रयास गरेको भन्दै प्रश्न गरेका थिए ।
बालेनले यसअघि पनि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो ।
प्रधानमन्त्री दाहालसँगको भेटमा अन्य विषयमा पनि कुराकानी भएको मेयरका स्वकीय सचिव शाहले जानकारी दिए ।