अस्पतालले मृत घोषणा गरेको शिशु दाहसंस्कार गर्न लैजाँदा जीवितै

विराटनगर – चिकित्सकलाई बिरामीले भगवानको रुप ठान्छन्। हुन पनि मृत्युको मुखमा पुगेका बिरामीलाई जीवन दिने काम चिकित्सकले नै गर्छन्। तर, चिकित्सकको सानो लापरबाहीले कस्ता घटना हुन्छन् भन्ने कारुणीक उदाहरण छ विराटनगरस्थित कोशी अस्पतालको। जहाँ चिकित्सकको टोलीले मृत घोषणा गरेको शिशु जीवित छ। त्यो पनि परिवारले अन्तिम दाहसंस्कार गर्न लिएर जाँदा पत्ता पाए।

स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना भएका १८ दिने शिशुलाई बुधबार अस्पतालको चिकित्सकीय टोलीले मृत घोषणा गर्‍यो। परिवारले चिकित्सकको कुरा पत्याएर अन्तिम संस्कारका लागि लगे। यसरी लैजाँदै गर्दा शिशु जीवितै भएको पाइएपछि फेरि उपचार गर्न अस्पताल फर्काइएको छ।

यी शिशुको अहिले विराटनगरकै गोल्डेन अस्पतालको एनआईसीयू कक्षमा उपचार भइरहेको छ। उपचाररत शिशुको अवस्था गम्भीर रहेको अस्पतालका व्यवस्थापक सुनिल बानियाँले अन्नपूर्णलाई बताए। उनले भने, ‘हामी बेस्ट ट्रिटमेन्ट दिने प्रयास गरिरहेका छौं। उनको स्वास्थ्य अवस्था स्थिर छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

यो समाचार आजको अन्नपूर्ण पोष्टमा रहेको छ ।