सुर्खेत – वीरेन्द्रनगर नगरपालिका १२ मा निर्माणधिन नाला काम नसकिदै भत्किएपछि चौतर्फि आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धीत सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।
हटलाईन सडक अन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिव ५ सय मिटर मध्ये ५० मिटरबढि नाला गएको १८ गते ठेकेदार र प्राविधिकको लापरवाहीले भत्किएको हो । तर अविरल बर्षाका नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धीत कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ ।
उक्त नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।
यसैबिच कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले भत्किएको नाला निरिक्षण गर्दै यथाशिग्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउसो नाला निरिक्षणपछि निर्माण कम्पनीलाई यथाशिग्र गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न मन्त्रीद्धोयले निर्देशन दिएका हुन् ।
साथै नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमिकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुबैलाई आवश्यक कारवाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरिक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफुखुसी काम गरेकोले नाला भत्किन पुगेको तर्क गरे ।
तर यता निर्माण कम्पनीका साईड म्यानेजिङ डाईरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किएपनि सरकारी प्राविधिकको दवाबमा काम गर्नुपर्दा स्टमेट भन्दा बाहिर जादाँ नाला भत्किएको स्विकार्यका छन् ।
आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टमेट गरिएको र त्यहीपनि सरकारी प्राविधिकको दवाबमा सडक लेवलमा (स्टमेटभन्दा बाहिर गएर) नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।
उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेज अन्तर्गत करिव १ करोड लागतमा विध्या एण्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो ।
गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाईले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपु¥याएका कारण नाला बिचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए । नालाको दुबैतर्फ लगाइएको दिवाल पनि तोकिएको मापदण्ड अनुसार नभएको अनुगमनका क्रममा देखिएको छ ।