किन गर्ने प्रसुतीको पूर्वतयारी ?


सुर्खेत – आमा र नवजात शिशुको स्वास्थ्य रक्षाको लागि स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसुतीसेवा लिन स्त्रि तथा प्रसुती रोग विषशेज्ञ डा. धर्मराज रेग्मीको सुझाब छ । उनी प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् ।

‘स्वास्थ्य संस्थामा नै गएर दक्ष प्रसुती कर्मीबाट बच्चा जन्माउनु नै सुरक्षित प्रसुती हो । यसका लागि गर्भवती महिला र परिवारले सुरक्षित प्रसुतीको लागि पुर्व तयारी थाल्नुपर्दछ’ डा. रेग्मीले भने, ‘नियमित गर्भ जाँच गर्दा स्वास्थ्यसंस्था जाँदा स्वास्थ्यकर्मीले दिएको परामर्श अनुसार प्रसुतिको तयारी गर्नुपर्छ ।’

उनका अनुसार प्रसुतीको पूर्व तयारी भित्र सुत्केरी हुने सम्भावित दिन, कहाँ सुत्केरी गराउने, स्वास्थ्यसंस्था कसरी लाने ? कसले लाने ? यातायात व्यवस्था, रुपैयाँ पैेसा, लुगाफाटा, पोषिलो खाद्यान्नको ब्यवस्थापन्, रक्त समुह मिल्ने ब्यक्तिको पहिचान लगायतका कुरा पर्दछन् ।

सुत्केरी सेवाका लागि आफ्नो पायक पर्ने स्वास्थ्य केन्द्र वा बर्थिङ्ग सेन्टर छनौट गर्नपर्ने डा. रेग्मीले बताए । स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा अन्य कुनै जटिलता आएमा तत्काल आवश्यक उपचार गराउन सकिने उनको भनाइ छ ।

‘घर वा गोठमा प्रसुती गराउनु अति नै जोखिमपुर्ण हुन्छ । आमा र बच्चाको ज्यानै समेत पनि जान सक्छ । यस्तै आमा र बच्चालाई दिर्घकालिन स्वास्थ्य समस्या पनि आउन सक्छ’ सत्यपत्रिकासँग कुरागर्दै उनले थपे, ‘घर वा गोठमा प्रसुती गराउदा बच्चा अड्किने राम्रोसंग नहुने, बच्चाको जन्म पश्चिात रक्क्त श्राप भएर आमाको ज्यानै जान सक्छ ।’

यसका साथै बच्चाको ज्यान पनि खतरामा हुने जस्ता विविध समस्या आउन नदिन अस्पतालमा नै गएर दक्ष प्रसुती कर्मीबाट सल्लाह लिई प्रसुती गराउदा जटिलताबाट टाढा हुन सकिने उनले बताए । जसकारण गर्भवती महिला र जन्मने बच्चा पनि स्वस्थ हुन्छन ।

थप ध्यान दिनुपर्ने कुरा

कुनै पनि महिला गर्भवती भएदेखिनै दक्ष स्वाथ्यकर्मीकहा गएर चेकजाच गराउनु पर्छ । कुनै जटिलता आउने जस्तो छ भने त्यसको व्यवस्थापन गराउन पर्छ । यि सबै कुरा स्वास्थ्यसंस्था नगएर जानकारी हुदैन त्सैले आउने समस्याबाट बच्न स्वास्थ्यसंस्थामा नै सुत्केरी गराउनु सुरक्षित हुन्छ ।

‘स्वास्थ्य संस्थामै सुत्केरी गराउँदा सुरक्षित रुपमा सुत्केरी गराउन सजिलो त हुने भयो नै । यसका साथै राज्य एवं बिभिन्न ठाउँमा स्थानिय निकायहरुले पनि स्वास्थ्यसंस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले बिभिन्न सेवासुबिधाहरु दिइरहेको छ’ डा. रेग्मीले भने, ‘स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउदा आमा र बच्चाको लागि सरकार तथा पालिकाको तर्फबाट बिभिन्न सेवा, सुबिधा, भत्ता तथा खाद्यान्न सहयोग पनि पाईन्छ ।’

यस्ता छन्, प्रसूती सेवा लिएमा पाइने सुविधा

स्वास्थ्य संस्थामा प्रसूती गराए बापत हिमाली जिल्लामा रु ३ हजार, पहाडी जिल्लामा रु २ हजार र तराईंका जिल्लामा रु १ हजार यातायात खर्च पाइन्छ ।

यसको साथै गर्भवती हुदा नियमीत गर्भजाँच स्वास्थ सस्थामै गराउनु भएको छ, भने थप ८ सय दिने गरिएको छ । प्राकृतिक प्रकोप तथा महामारीको समयमा पनि स्वास्थ्य संस्थाहरुबाट गर्भजाँच, प्रसुती तथा स्वास्थ्य सेवाहरु नियमित रुपमा प्रदान भइरहेको हुन्छ । त्यसैले आफ्नो पायकपर्ने स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविकासँग सम्पर्कमा रही आफुलाई आवश्यक पर्नसक्ने स्वास्थ्य सेवा कसरी सहजै लिन सकिन्छ भन्ने सल्लाह गरी सेवा लिन स्वास्थ्य संस्था नै जानुपर्दछ ।

कोरोना भाइरस संक्रमण महामारीको समयमा स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थामा जाँँदा भाइरसको संक्रमणबाट सुरक्षित हुन जनस्वास्थ्यको न्यूनतम मापदण्ड (मास्क, भौतिक दुरी र साबुनपानी वा सेनेटाईजर)को सहि प्रयोग गर्नुपर्ने समेत स्त्रि तथा प्रसुती रोग विषशेज्ञ डा. धर्म रेग्मीले बताए ।