पहिलोपटक अन्तरिक्षबाट मापन गर्न सकियो गाईको ‘डकार’ ले फाल्ने ग्यास !

वासिङटन – क्यालिफोर्नियाको एक फार्मबाट गाईहरुले डकार्दाखेरि उत्पन्न मिथेन गयस पहिलोपटक अन्तरिक्षबाट पनि मापन गर्न सकिएको छ । स्याटलाइट डाटाले यस्तो पत्ता लगाएको हो ।

गाईहरुले डकार्दा त्यसबाट मिथेनले भरिएको ग्यास निस्कन्छ । यसले पनि कार्बन डाइ–अक्साइड भन्दा २० गुणा बढी स्तरमा सूर्यको तापमान पृथ्वीमै जफत गराइदिन्छ ।

वातावरणीय डाटा फर्म जीएचजीस्याटले यस महिना आफ्नो स्याटलाइटबाट मिथेन ग्यास उत्सर्जनको यस्तो श्रोतबारे अध्ययन अनुसन्धान गरिरहेको थियो । कम्पनीले यस खोजलाई उल्लेखनीय बताएको छ किनकि कृषि क्षेत्रबाट उत्पन्न मिथेन ग्यासको मापन गर्न एकदमै कठिन मानिदै आएको छ । यस सम्बन्धी स्पष्ट डाटा प्राप्त भएपछि मात्र उत्सर्जन न्युनिकरण गर्न आवश्यक मापदण्डहरु कार्यान्वयन गर्न सकिनेछ ।

कम्पनीका अनुसार त्यो सिङ्गो फार्मबाट उत्सर्जन भएको मिथेन ग्यासको हिसाब गर्दा प्रति वर्ष ५ हजार ११६ टन हुन्छ । यदि त्यसलाई संकलन गर्ने हो भने यसबाट १५ हजार घरलाई ऊर्जा खपत गर्न पुग्छ ।

९।६ प्रतिशत ग्रीनहाउस ग्यास उत्सजर्न कृषिजन्य क्रियाकलापकै कारण हुन्छ । यसमा ३६ प्रतिशत मिथेन ग्यास गाईवस्तु पालनबाट हुने गरेको छ ।

यस्तोमा गाईवस्तुबाट मिथेन ग्यासको उत्पादनलाई न्युनिकरण गर्न विभिन्न तरिकाहरु परीक्षण भइरहेका छन् । यसमा उनीहरुको खानेकुरामा ‘सीवीड’ अर्थात समुद्री साग मिसाउनेबारेपनि कुरा उठेको छ । यसअघिको एक रिसर्चमा सीवीड मिसाउँदा गाईवस्तुले उत्पादन गर्ने मिथेनको मात्रालाई २० प्रतिशतसम्म घटाउन सकिने पत्ता लागेको थियो । रोयटर्स