जुम्लाका दुई स्थानीय तहमा महिला प्रमुख उम्मेदवार


जुम्ला – जिल्लामा रहेका आठमध्ये दुई स्थानीय तहमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा रहेको जिल्लाका दुई पालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको हो।

चन्दननाथ नगरपालिकाको प्रमुखमा २८ वर्षीया जयालक्ष्मी चौलागाईँले उम्मेदवारी दिएकी छिन्। उनले एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन्। एकीकृत समाजवादीले उपप्रमुखमा भीम थापालाई उठाएको छ ।

यस्तै नेकपा एमालेले गुठिचौर गाउँपालिकामा झुनमाया जैसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। ‘चुनाव जितिएला, हारिएला यो फरक कुरा होु,जैसीले भनिन्, ुपार्टीले महिलालाई चुनावी मैदानमा पठायो। यसैमा सन्तुष्ट छु।’ एमालेले गुठीचौर गाउँपालिकाको उपाध्यक्षमा प्रेम बुढालाई उम्मेदवार बनाएको छ।

अरु ६ वटा स्थानीय तहमा पुरुषले पालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने महिलालाई उपप्रमुख तथा उपाध्यक्ष बनाएका छन्।

हरेक तह र तप्कामा समावेशीका नारा घन्किए पनि स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा महिलाको निकै कम प्रतिनिधित्व देखिएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए। ‘समावेशी नारा नेताले भाषणमा मात्रै सीमित गरे’, उनले भने, ‘कार्यान्वयन गरेनन्।’

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्।