नगर-प्रमुख सुवेदीद्धारा १३ लाखको अक्षयकोष स्थापना, विपन्न वर्गलाई लाभ

सुवेदीले आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेपछि चर्चा बढ्यो

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् । आफ्नो पाँच वर्षको कार्यकालमा नेपाल सरकारबाट पारिश्रमिक स्वरुप पाएको सबै रकम उनले अक्षयकोष स्थापनामा लगानी गरेका हुन् ।

सुवेदीले पारिश्रमिक स्वरुप राज्यबाट लिएको १३ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा लगानी गरेका हुन् । सुवेदीद्धारा स्थापना गरिएको उक्त अक्षयकोष गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीको सहयोगका लागि खर्च गरिने छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका सुवेदीको पाँच वर्षे कार्यकाल अन्तिम चरणमा छ । सुवेदीको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गर्दा उहाँको चर्चा बढेको छ ।

पाँच वर्षे कार्यकालमा विवादरहित काम गरेका नगर प्रमुख सुवेदीले तलव भत्ता वापतको रकम विपन्न वर्गका लागि खर्च ध्येयले अक्षयकोष स्थापना गरिएको बताए । यस्तै सुवेदीले सामाजिक सेवामुलक काम गर्ने उदेश्यले रविजगत फाउन्डेसको पनि स्थापना गरेका छन् ।

फाउण्डेसनले विकास निर्माण तथा कृषि, जडिबुटीको षेमा पनि काम गर्ने सुवेदीले जानकारी दिए । उनका अनुसार फाउण्डेसनले खेलकुद क्षेत्रमा यूवा सहभागिताका लागि काम गर्नुका साथै गैर राजनीतिक र मुनाफारहित हुनेछ ।