पर्वत – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।
समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे।
‘जो चोर उसकै ठूलो स्वर भनेको जस्तो जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्छ। तर‚ चोरले ठूलो स्वर निकाल्यो भन्दैमा डराउनु पर्दैन,’ अध्यक्ष नेपालले भने, ‘दक्षिणपन्थी, अवसरवादी, निरंकुशवादी, आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध हामी लगातार लडिरहेका छौँ।’
नजिकिँदै गएको स्थानीय तहको निर्वाचनबारे बोल्दै उनले २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ। एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ।
यस्तै‚ उनले उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह‚ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे।
‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ। संघीयता र लोकतन्त्र नै समाप्त पार्ने प्रवृत्तिविरुद्ध हामी साझा लडाइँमा छौँ,’ अध्यक्ष नेपालले थपे, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ। ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ।’
पाँच दलीय गठबन्धनको बैठकले तयार पार्ने साझा सहमतिको आधार र मोडालिटी अनुसार नै उम्मेदवारको निधो हुने पनि उनको भनाइ छ।
अध्यक्ष नेपालले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उनको सुझाव छ। तर‚ अहिलेको अवस्था सिर्जना हुनुको दोषी ओली नेतृत्वको सरकार रहेको नेपालले आरोप लगाए।