देउवाको भारत भ्रमणको तेस्रो दिन, वाराणसी तीर्थाटनपछि स्वदेश फर्किने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज वाराणसी जाँदैछन्। देउवा आज विहान नयाँ दिल्लीबाट विहान ९ बजे वाराणसी पुग्ने र अपरान्ह ४ बजे दिल्ली फर्किने छन्। दिल्लीबाट सवा चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उत्तर प्रदेशमा पर्ने वाराणसी नेपालका हिन्दु धर्मावलम्वीहरूको पनि आस्थाको केन्द्र हो। भारतीय हिन्दुहरूको पवित्र धार्मिक स्थल मानिने वाराणसीमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छन्। त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शनपछि उनी आजै दिल्ली पुगेर काठमाडौं आउने कार्यक्रम छ।

५० सदस्यीय टोलीसहित गत शुक्रबार दिल्ली पुगेका देउवाले त्यहाँ रहँदा पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ भारतीय जनता पार्टी भाजपाको मुख्यालय पुगेका थिए। शुक्रबार राति भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गरे। त्यहाँ नेपाल भारतबीच चार सम्झौतामा हस्ताक्षर भयो। यस्तै जनकपुर(जयनगर रेल सेवाको पनि उद्घाटन देउवा मोदीले गरेका थिए। यसै गरी सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन भएको थिए। हिजो नै देउवाले भारतीय व्यापारीसँग छलफल गरेका थिए।