कर्णालीका २ सय ९४ मतदानस्थल अति संवेदनशील

सुर्खेत — आसन्न स्थानीय तह निर्वाचनमा कर्णालीका २ सय ९४ मतदानस्थल अति संवेदनशील मानिएको छ । जसमा सबैभन्दा बढी कालीकोटका ७३ मतदान केन्द्र छन् । जाजरकोटमा एउटा मात्र मतदान केन्द्र सुरक्षाका दृष्टिले जोखिमपूर्ण मानिएको छ । निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलताको अनुगमन गरी प्रदेश सुरक्षा समितिले प्रतिवेदन तयार गरेको हो ।

 

समितिका अनुसार कर्णालीका ७९ स्थानीय तहका ४ सय ४ मतदानस्थल संवेदनशील छन् । २ सय ८ मतदानस्थल सामान्य अवस्थाका छन् । कर्णालीमा ९ सय ७ मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र छन् । अति संवेदनशील मानिएका मतदानस्थलमा चारवटै सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार चारवटै सुरक्षा निकायको टोली सुरक्षा बिट र मोबाइल टिम व्यवस्थापनमा जुटेको छ । ‘संवेदनशील भएका स्थानहरूमा के कस्तो सुरक्षा व्यवस्था मिलाउन सकिन्छ भनेर सम्बन्धित पालिकाहरूसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘अहिलेदेखि नै अति संवेदनशील मानिएका क्षेत्रमा नियमित गस्ती गर्ने व्यवस्था मिलाएका छौं ।’

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार आसन्न स्थानीय तह निर्वाचनमा कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता छन् । त्रुटि सच्याउने काम भइरहेकाले केही घट्ने अनुमान गरिएको कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । उनका अनुसार अहिले स्थानीय निर्वाचनमा खटिने कर्मचारीको विवरण लिने काम भइरहेको छ । ‘निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि स्थानीय तहसँग छलफल सुरु गरिएको छ,’ उनले भनिन्, ‘सबै निर्वाचन कार्यालयहरूले मतदाता नामावली प्रकाशन र आन्तरिक तयारी गरिरहेका छन् ।’ उनले मतदाता नामावली संशोधन सकिएसँगै निर्वाचनका लागि चाहिने जनशक्ति परिचालनको काममा लाग्ने जानकारी दिइन् ।

कर्णालीमा म्यादी प्रहरीका लागि २१ हजार २ सय २४ जनाले आवेदन दिएका छन् । प्रदेशभरि साढे ७ हजार म्यादीको आवेदन खुलाइएकोमा ३ गुणा बढी युवाले आवेदन दिएका हुन् । प्रहरी प्रदेश कार्यालयका निमित्त प्रमुख हीरा पाण्डेले चाहिएको भन्दा ३ गुणा बढी आवेदन पर्दा प्रतिस्पर्धा कडा भएको बताए । ‘म्यादीमा दिएको निवेदनको आधारमा कर्णालीमा बेरोजगार युवायुवती कति छन् भन्ने कुरा स्पष्ट थाहा हुन्छ,’ उनले भने, ‘झन्डै एकतिहाइ महिलाहरूले बच्चाबच्ची च्यापेरसमेत निवेदन दिएका छन् ।’ उनले म्यादीका लागि ४ हजार ४ सय ३६ महिला र १६ हजार ८ सय १८ जना पुरुषले आवेदन दिएको बताए । उनका अनुसार एसईईदेखि स्नातक पढेकासम्मका निवेदन बढी आएको छ । कर्णालीमा सबैभन्दा धेरै ५ हजार १ सय ७२ र सबैभन्दा कम डोल्पामा ७ सय ४७ जनाले निवेदन दिएका छन् । सुर्खेतमा १ हजार २ सय ६१ जनाको आवश्यकता छ । – ekantipur