यूएईविरुद्ध सरप्राइज नतिजाको अपेक्षा


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज पछिल्लो समय उत्कृष्ट लयमा रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ ।

यूएई र नेपाल दुबैले पहिलो खेल पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जितेका थिए । यूएईले पीएनजीलाई सात विकेटले हराएको थियो भने नेपालले दुई विकेटको संघर्षपूर्ण विजय हासिल गरेको छ ।

नेपालले पीएनजीविरुद्ध शारजाहक्रिकेट मैदानमा खेलेको थियो । यूएईविरुद्ध नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । पछिल्लो पटक नेपाल र यूएईले ओमान आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा खेलेको थियो । दुई खेलमध्ये दुबै खेलमा पराजित थियो । यूएईले नै नेपालको विश्वकप यात्रामा पूर्णविराम लगाईदिएको थियो । तर, त्यो ट्वान्टी–२० खेल थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपाल यूएई २०१९ पछि आमनेसामने भएका छैनन् । यूएई भ्रमणमा नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । उक्त शंखलामा नेपाल २–१ ले विजयी भएको थियो । त्यसपछि आजै दुई टिम आमने सामने हुँदैछन् ।

त्यसकारण नेपाललाई आज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जितलाई निरन्तरता दिने अवसर छ भने ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा हारको बदला लिने अवसर छ । नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायके भने नेपाललाई भन्दा यूएईलाई बढि दबाव भएको बताएका छन् ।

‘‘यूएईले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ । त्यसबारे हामी जानकार छौं । दुबई क्रिकेट मैदानमा सम्भवत हामी पहिलो पटक खेल्दैछौं । यो मैदानमा हाम्रो अनुभव छैन । त्यसैले चुनौती छ । तर, हामीले पनि राम्रो गरिरहेका छौं । अघिल्लो खेलमा हाम्रो ब्याटिङ राम्रो हुन सकेन । विशेष गरी शीषक्रममा समस्या देखियो ।

तर, हामी खेल्न तयार छौं,’’ नेपालका प्रशिक्षक पुबुदुले नेप्लेजसँगको कुराकानीमा भनेका छन्, ‘‘यूएईको ब्याटिङ बलियो देखिए पनि शीर्ष तीन चार खेलाडीले नै टिमलाई सम्हाल्ने गरेका छन् । त्यसमा हामीले रणनीति बनाइरहेका छौं । हामी आज सरप्राइज नतिजा निकाल्नेमा विश्वस्त छौं ।’’

पुबुदुले टिममा केही परिवर्तन हुने संकेत दिए । उनले कमलसिंह ऐरीलाई टिममा समेट्ने बताए पनि अन्यको नाम खुलाएनन् । उनले भने, ‘‘पहिलो खेलमा कमलसिंहलाई आरम दिनु मेरो लागि कठिन निर्णय थियो । पछिल्लो समय उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तथापि, हामी पीचको कन्डिसन हेरेर निर्णय गर्नेछौं ।’’

यूएई र नेपाल एसोसियट राष्ट्रका चीरपरिचित प्रतिद्वन्दी हो । नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २र२ पटक जित हात पारेका छन् ।

नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ ।