डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

 काठमाडौं—वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको हो ।

अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् । डा. रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ ।

फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् ।

भोलि जे पनि हुन सक्छ । अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे ।

डा. रिजालले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरे । उनले फ्रन्टलाइनमा रहेर काममा समर्पितहरुका लागि कविता पनि रचेका छन् ।

सलाम छ स्वास्थ्यकर्मी तिम्रो त्याग र तपस्यालाई

सञ्चार, सुरक्षाकर्मी, सहयोगी हातहरुलाई

गर्छौ नमन सबैले आज यो शिर झुकाई

-डा. भोला रिजाल (हेल्थ आवाज)